डडेल्धुरामा रिपिटर टावर बन्ने

0
Shares

डडेल्धुरा ।
डडेल्धुरा अजयमेरु गाउँपालिका–१ खस्रान डाँडामा नेपाल टेलिभिजनको रिपिटर टावर बन्ने भएको छ । भूसतही प्रविधिमार्फत नेपाल टेलिभिजनलाई डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका अन्य तीन वटा पहाडी जिल्लाका ग्रामीण भेगसम्म प्रसारणको पहुँचका लागि सो रिपिटर टावर निर्माण हुन लागेको हो ।

जिल्लाको अमरगढी नगरपालिकाको पलेत्थर डाँडा र अजयमेरु गाउँपालिकाको खस्रान डाँडामा सर्वेक्षण गर्दा खस्रान डाँडा उपयुक्त भएको पाइएपछि त्यहाँ टावर बन्ने भएको हो । टावरका साथै आवश्यक पर्ने भवन निर्माणका लागि स्थानको छनोटका साथै जग्गाको नाप गरिसकेको नेपाल टेलिभिजनका इञ्जिनीयर सुरेन्द्रकुमार कर्णले बताउनुभयो ।

टावर बनाउन जग्गाको भोगाधिकार लिन र अन्य प्रक्रिया शुरु भइसकेको छ । टावरको निर्माण कार्य चाँडै शुरु गर्ने नेपाल टेलिभिजनका प्रशासन अधिकृत गङ्गा खतिवडाले बताउनुभयो । टावर बन्ने भएपछि डडेल्धुरा, बैतडी, बझाङ जिल्लाका अधिकांश भागमा नेपाल टेलिभिजनको सहज पहुँच हुने भएको छ । नेपाल टेलिभिजनले चालू आवमा डडेल्धुरासहित देशका विभिन्न भागमा तीन वटा रिपिटर टावर निर्माण गर्न लागेको सो टेलिभिजनले जनाएको छ ।
रासस