शिवहरीप्रसाद भट्टराई, राजविराज ।
सप्तरीको सुरुङ्गा नगरपालिका –९ मा शनिवार दिउँसो भएको आगलागीमा दश घर खरानी भएको छ । वडा नं. ९ प्रमाणपुर स्थित बद्री मण्लको घरबाट दिउँसो १ बजे सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा आठ परिवारको १० घर नष्ट भएका छन् भने लाखौं धनमाल जलेको छ ।
आगोले बद्री मण्डलका साथै छिमेकी विद्या मण्डल, भदै मण्डल, मनोज मण्डल, भोला मण्डल, शिवा मण्डल, दशरथ मण्डल र अधिकलाल मण्डल लगायत आठ परिवारलाई बेघर बनाएको हो ।आगलागीमा परेका सवै घर फुस, काठ र टिनका छाना भएका घर हुन । बिहानैदेखि हावा चलेकाले आगो सल्किना साथ धेरै घरछोटो समयमै जलेको पिडितहरुले बताएका छन् ।
आगो एक घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन शम्भुनाथ र लहान नगरपालिकाको वारुणयन्त्रका साथै स्थानीयवासी, प्रहरी र सेना सक्रिय थिए । आगलागिको कारण खुल्न नसके पनि करिब ३६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।
गर्मी मौसमको शुरुआतसँगै चल्ने हावाहुरीले सप्तरीमा एक साता यता करिब आधा दर्जन आगलागिका घटनामा ७५ लाख रुपैया बराबरको क्षति भइसकेको राजविराज नगरपालिका वारुणयन्त्र विभागको तथ्यांकले देखाएको छ ।











प्रतिक्रिया