सडकबाट २ दशकपछि आश्रममा

0
Shares

हेटौंडा ।
मानवसेवा आश्रमले मध्यरात काठमाडौंको सिनामगंलबाट एक असहाय बृद्धको उद्धार गरेको छ । खुकुलाल महर्जन नाम बताउने करिब ८० वर्षीय उनलाई सडकजीवन बिताउन थालेको २० वर्षपछि शुक्रबार राति आश्रमले उद्धार गरी सामाखुशीस्थित काठमाडौं शाखामा ल्याएको हो ।
कसैले केही दिए खाने, नत्र भोकै बस्नुपर्ने बाध्यताबीच सडकजीवन व्यतित गर्दैै आएका महर्जन सिनामंगलमा भएको घर सानैमा दाइले बेचेर गाउँ गएपछि आफू सडकमा आएको बताउँछन् । मनमैजु निवासी मुना राईले कार्यालय आउँदाजाँदा बृद्ध सडकपेटीमा सुतिरहेको देखेपछि आश्रमलाई खबर गरेकी थिइन् ।

राति ११ बजे आश्रम टोली उद्धारका लागि सिनामंगल पुग्दा पेटीमा सुतिरहेका थिए महर्जन । दुई वटा कुकुर उनीसँगै सुतिरहेको थियो । कसैले दिएको तीन÷चार कोसा केरा, पाउरोटी र केही कपडा बृद्धको साथमा भेटिए । स्थानीय ट्याक्सी चालकले आफूले १० वर्षदेखि त्यही ठाउँमा बृद्धलाई पेटीमा सुत्ने गरेको देखेको बताए ।

लगाउन एक जोर कपडा थियो तर उनले लगाएका भने रहेनछन् । उनले ‘भन्नेबित्तिकै नुहाउन पाइँदैन, कपडा लगाएर सुत्दा जुम्रा पर्ने डरले कपडा नलगाएको’ बताए । उनी जुन घरको पेटीमा सुतेको थिए, त्यो भाञ्जाको घर भएको बृद्ध बताउँछन् ।

आफू सानै हुँदादेखि सडकपेटीमा सुत्ने गरेका महर्जनले बुबाआमालाई सानैमा गुमाए । भएको घर बेचेर गाउँ गएका दाइले सँगै गाउँ नलगेको महर्जनले गुनासो गरे ।

भाञ्जाभाञ्जी र आफन्तलाई सम्झाइबुझाइ परिवारमा बस्न सहजीकरण गरिने मानवसेवा आश्रमका काठमाडौं सहसंयोजक सन्तोषी मगर बताउनुहुन्छ । आश्रम काठमाडौं शाखा संयोजक सुमन बर्तौला, सहसंयोजक मगर र अभियन्ता जमिर श्रेष्ठसहित टोलीले बृद्धलाई संरक्षणमा लिएका थिए ।