चालक र सह–चालकलाई पोशाक

0
Shares

सरोज यादव, विराटनगर ।
सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत विराटनगरका सवारी चालक र सह–चालकलाई पोशाक वितरण गरिएको छ । दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकलाई पोशाक वितरण गरिएको हो ।

चैत १५ गतेदेखि चालकका लागि अनिर्वाय पोशाक लागू हुँदैछ । ट्राफिक प्रहरी निरीक्षक शिव पोखरेलले दुर्घटना न्यूनीकरण अभियानका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले २०० वटा चालक र सहचालकले लगाउनु पर्ने पोशाक वितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पोशाक प्रदान गरेका थिए । लामो तथा छोटा दूरीमा सञ्चालन हुने सवारी चालकलाई सुन्तला र सह–चालकलाई हरियो रङको पोशाकको व्यवस्था गरिएको छ ।

३ सय २३ दुर्घटनामा ६२ को ज्यान गयो
चालु आर्थिक वर्ष २०७५–७६ मा मोरङ जिल्लामा मात्र ३ सय २३ सवारी दुर्घटना हुँदा ६२ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ सय ८९ घाइते भएका छन् । सो अवधिमा ४२ हजार ९१ सवारीलाई कारवाही गर्दा २ करोड १५ लाख ५५ हजार रूपैया राजस्व संकलन भएको छ । त्यस्तै मापसे कारवाहीअन्तर्गत १ हजार ९ सय ७६ जना कारवाहीमा परेका छन् । मापसे कारवाहीबाट १९ लाख ७६ हजार रूपैया राजस्व संकलन भएको निरीक्षक पोखरेलले जानकारी दिए ।