दशनामी समाजको राष्ट्रिय महाधिवेशन शुरु

0
Shares

विराटनगर ।
नेपाल दशनामी समाजको ५ औं राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनको १ नम्बर प्रदेशका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले उद्घाटन गरे ।

दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने समाजका केन्द्रीय सदस्य डिल्लीराम गिरीले जानकारी गराए । दशनामी समाजभित्र गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम, आरण्य र तीर्थ जाति पर्दछन् । महाधिवेशनलाई सम्बोधन गर्दै तुम्बाहाङले मुलुकको आर्थिक समृद्धिमा सबै समुदाय एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले नेपालमा विविधताभित्र एकता भएकै कारण विश्वमा चिनिएको बताए ।

उनले संविधान कार्यान्वयनमा सहयोग पु¥याउन समाजलाई आग्रहसमेत गरे । “सबै समुदायको सहयोगले मात्रै मुलुक समृद्धि र बलियो हुन्छ,” तुम्बाहाङले भने, “मुलुकले विकास र समृद्धिको ट्रयाक समाइसकेको छ ।” त्यस्तै विराटनगर महानगर प्रमुख भीम पराजुलीले जाति र समुदायभन्दा माथि उठेर अब मुलुकको हितमा सोच्ने बेला आएको बताए ।

कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार हर्कलाल गिरी, वरिष्ठ सल्लाहकार महेश्वर भारती, वरिष्ठ उपाध्यक्ष विदुर भारती, महासचिव रुद्र गिरी, युवा समूहका अध्यक्ष अशोक गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महाधिवेशनसमा सहभागी हुन देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ७ सयभन्दा बढी दशनामी समुदायका व्यक्तिहरू भेला भएका छन् । समाजले ६६ जिल्लामा संगठन विस्तार गरिसकेको अध्यक्ष रञ्जनकुमार गिरीले जनाए । महाधिवेशनले ४१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । नेपालको जनगणना २०६८ अनुसार दशनामी समुदायको जनसंख्या २ लाख २७ हजार ९२२ रहेको छ ।