२ सय विद्यार्थीलाई दूतावासको छात्रबृत्ति

0
Shares

काठमाडाैँ ।
काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययन गर्ने २ सय जना जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।

यसवर्ष नेपालका ५० जिल्लाको विद्यार्थीहरुले एम्बीबी, बीडिएस्, बीई, बीएस्सी, बीकम्, बीबीएलगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाएका छन् । यीमध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्गता भएका विद्यार्थी रहेका छन् । बुधबार काठमाडौंमा आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहमा प्रमुख अतिथि शिक्षा सचिव खगराज बरालले ती सबै विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गर्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिदै उनीहरुलाई शैक्षिक सफलता हासिल गर्न हौसला प्रदान गर्नुभयो ।

सन् २००२ देखि भारत सरकारले ‘भारत–नेपाल आर्थिक सहकार्य’ को ५० वर्ष पुरा भएको अवसरमा दूतावासले स्वर्ण जयन्ति छात्रवृत्तिको सुरुवात गरेको थियो । पहिलो कार्यक्रमअन्तर्गत ५० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा सो छात्रवृत्ति संख्या वृद्धि भई १ सय पुगेको थियो । सन् २०१२ देखि यता छात्रवृत्ति संख्या दुई गुणाले वृद्धि भएर २ सय पुगेको छ ।

यस छात्रवृत्ति कार्यक्रम विद्यार्थीहरुले नगद प्राप्त गर्नेछन् । हालसम्म नेपालका २३ सय ५० भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान गरिसकिएको दूतावासले प्रकाशित गरेको विज्ञप्तीमा जनाइएको छ । नेपाल तथा भारतका विश्वविद्यालय तथा कलेजमा चिकित्सा, विज्ञान, पशु विज्ञान, औषधि विज्ञान, दन्त विज्ञान, कृषि, इन्जिनियरिङ्ग, कला, कमर्स, विज्ञान, कम्प्युटर विज्ञान, नर्सिङ तथा अन्य विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि पनि भारत सरकारले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।