झापालाई नमूना जिल्लाको रुपमा विकास गरिने

0
Shares

झापा ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले झापा जिल्लालाई भौतिक साधनस्रोत तथा प्रविधिको सहयोगबाट न्यून प्रहरीको उपस्थितिले अधिकतम शान्ति सुरक्षाको वातावरण सिर्जना गर्ने र यस जिल्लालाई मुलुककै नमूना जिल्लाको रुपमा विकसित गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

प्रहरी महानिरीक्षक खनालले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुलाई बिहीबार उक्त कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक खनालले सम्माननीय प्रधानमन्त्रीज्यूको समृद्धिको चाहना अनुरुप मुलुकलाई समृद्धितर्फ लैजानका लागि प्रहरी कर्मचारीहरुले जनचाहना अनुरुप इमानदार, अनुशासित र व्यवसायिक भई कार्य सम्पादन गरी शान्तिसुरक्षा अमनचैन कायम एवं भयरहित वातावरण सिर्जना गरी विकास निर्माणको माध्यमले मुलुकलाई समृद्धितर्फ लैजाने कार्यमा सहयोगी भई काम गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रहरीप्रति नागरिकको भरोसामा कुनै कमी आउन नदिई स्मार्ट पुलिसिङमा विशेष ध्यान दिन उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो । सशस्त्र विद्रोह, हातहतियार, लागूऔषध, जघन्य अपराध लगायतका अपराध र अपराधीसँग कुनै सम्झौता नगरी त्यस्ता तत्वलाई कुनै पनि हालतमा कानुनको दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आर्थिक अनुशासनमा शून्य सहनशीलताको नीतिलाई पूर्ण रुपमा अवलम्बन गरी मुलुकको समृद्धि कायम गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरुले राष्ट्रको कामलाई आफ्नै काम सम्झी अझै बढी सक्रिय रुपमा काम गर्नुपर्ने प्रहरी महानिरीक्षक खनालले उल्लेख गर्नुभयो । गुण्डागर्दी, तस्करी जस्ता अपराध नियन्त्रणमा उच्च मनोबलका साथ काम गरी सकारात्मक प्रतिफल देखाउनुपर्ने उहाँले चर्चा गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले जिल्ला प्रहरी कार्यालय झापाको कार्यालय तथा कार्यालय परिसरको निरीक्षण समेत गर्नुभएको थियो ।