कार्यालय प्रमुखद्वारा रक्सी, सुती तथा चुरोट नखाने प्रतिवद्धता

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङका कार्यालय प्रमुखहरूले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिवद्धता व्यक्त छन् । स्वास्थ्य कार्यालय लमजुङले आयोजना गरेको एउटा कार्यक्रममा उनीहरुले कार्यालय भित्र तथा कार्यालय बाहिर कुनैपनि समय रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिवद्धता बिहीबार व्यक्त गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले कार्यक्रममा सहभागी कार्यलय प्रमुख तथा प्रतिनिधिहरू सवैलाई प्रतिवद्धता पत्र पढेर सपथ खुवाउनु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित ‘मेरो बर्ष’ पुस्तिकामा लेखिएको मेरो ५ प्रतिवद्धता, स्वस्थ जीवनको आवश्यकता शीर्षकको ५ वटा प्रतिवद्धताको पाठ गरेर प्रजिअले सहभागीलाई सपथ खुवाउनु भएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनु भयो । उहाँका अनुसार सपथका क्रममा ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ भन्ने वाक्यांस उक्त प्रतिवद्धतामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले रक्सी, चुरोट र सुर्तिजन्य पदार्थ नखाने प्रतिवद्धता जनाएकाले यसलाई कार्यान्वयनमा उतार्न सवैलाई आग्रह गर्नु भयो । स्वास्थ्य कार्यालयमा आयोजित किटजन्य रोगहरू तथा कुष्ठरोग सम्बन्धी सरोकारवाला संस्थासंगको समन्वयात्मक बैठक तथा अभिमूखिकरण गर्नु अघि सहभागीलाई उहाँले सपथ खुवाउनु भएको हो ।

बेसीसहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रनाउ यादव ढकाल, सशस्त्र प्रहरी प्रमुख प्रनाउ दीपक बलामी, श्रीजंग गण उदिपुरका मेजर पूर्णबहादुर चन्द, प्रमुख अनुसन्धान अधिकृत सुरेश तिवारी, स्वास्थ्य कार्यालयका प्रमुख केवशप्रसाद चापागाई, नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष दीपक बराल, गौंडा प्राथामिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. दीपक लोहला, लमजुङ मोडेल अस्पतालका निर्देशक डा. तिलकबाबु घिमिरेलगायत कार्यक्रममा सहभागीले रक्सी, चुरोट र सुर्ती नखाने प्रतिवद्धता मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

यसैगरी, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, बेसीसहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, लमजुङ मोडेल अस्पतालका निर्देशक डा. तिलकबाबु घिमिरे, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ लगायतले उक्त प्रतिवद्धताको सफलताका लागि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

समन्वयात्मक बैठकमा मेडिकल अधिकृत डा. लोहलाले हात्तीपाइले, स्क्रब टाइफस, औलो, कालाजार, डेंगु, कुष्ठरोग लगायत रोगबारे जानकारी गराउनु भएको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट दीपक बोम्जनले जानकारी दिनु भयो ।
सो अवसरमा प्रजिअ ढकालले सपथ खुवाउँदै गरेको फोटो पनि छ ।