पार्वतीको जन्मभूमि पर्वतलाई पर्यटकीय गन्तव्य बनाउने अभियान

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
हिन्दुहरुका आराध्यदेव भगवान शिब र देवी पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुक्ति स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्य सहित आयोजना गरिने शिवपूराण सामूहिक तुलादान,गुप्तेश्वर विराट कोटीहोम महायज्ञ मेला २०७६ को तयारी तीब्र पारिएको छ ।

कुस्मामा आगामी जेठ १ देखि ११ गते सम्म सञ्चालन महायज्ञको प्रचारप्रसार र सहयोग समिति गठन गर्ने अभियान नै सञ्चालन गरिएको हो ।

कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुस्मालाई प्रमुख धार्मिक पर्यटकीय गन्तब्य बनाउन सबै पर्वतबासी जुट्नुपर्ने बताउनुभयो । कुस्मामा नगरपालिकामा मोदीबेणी, गुप्तेश्वर, अलपेश्वर, पार्वती गुफा, पञ्चासे, बाटुलेचौर लगायत दर्जनौ धार्मिक र पर्यटकीय गन्तब्य भएकाले धार्मिक पर्यटकहरुलाई आकर्षित गर्दै धार्मिक र पर्यटकीय गन्तब्य बनाउन सबैले सहयोग गर्न आग्रह पनि गर्नुभयो ।‘ धार्मिक गन्तब्य बनाउनका लागि महायज्ञ एक महत्वपुर्ण अवसर हो’ उहाँले भन्नुभयो ‘ यस महायज्ञमा सबै सहभागी भएर यज्ञलाई सफल बनाउन आवश्यक छ ।’

देवी पार्वतीको जन्म पर्वतको पाङ्गमा भएको र गुप्तेश्वर गुफामा तपस्या गरि महादेवलाई पतिको रुपमा पाएको भनाई रहँदै आएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, सिताको जन्मस्थल जनकपुर जस्तै पार्वतीको जन्मस्थल पर्वतलाई पनि धार्मिक तथा पर्यटकीय गन्तब्य बनाउन महायज्ञ र धार्मिक मेला आयोजना गरिएको मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले जानकारी दिनुभयो ।

उहाँले मुक्तिनाथ प्रबेशगर्ने स्थल समेत भएका कारण पर्वत र गुप्तेश्वरको धार्मिक महत्वका बारेमा बुझाउनका लागि महायज्ञ महत्वपुर्ण अवसर हुने र बिश्वकै अग्लो शिब र पार्वतीको मुक्ति एकै स्थानमा बनाउँदा बर्षेनी लाखौ भक्तजन र पर्यटक आउने बिश्वास ब्यक्त गर्नुभयो ।