कृष्णनगर प्रदेशकै पहिलो डिजिटल नगर प्रोफाइल

0
Shares

सीताराम चौधरी, कृष्णनगर ।
सरकारद्वारा जारी नयाँ कार्यविधि अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिकाले प्रदेश नं.५ कै पहिलो डिजिटल नगर प्रोफाइल निर्माण गरेको छ ।

संघीय सरकारले जारी गरेको नगर कार्यविधि अन्तर्गत कृष्णनगर नगरपालिकाको प्रोफाइल निर्माण जिम्मा पाएको रोबस्ट आईटी कन्सेप्ट्स प्रालिको प्राविधिक सहयोग तथा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो ।

नगरप्रोफाइलले जिपिएस पद्धतिमार्फत नगरभित्रका वस्तुस्थिति सजिलै प्राप्त गर्न सकिनेछ । नगरपालिकाभित्रका भौतिक, सामाजिक, औद्योगिक, व्यावसायिक, धार्मिक लगायत व्यक्तिगत घटना एवं नगरको चौतर्फी विकासमा टेवा पुग्ने नगरप्रमुख रजत प्रताप शाहले विश्वास व्यक्त गरे । नगरप्रमुख शाहले विषयवस्तुलाई निरन्तर अपडेट राख्न सो डिजिटल प्रोफाइल निर्माण गर्न शुरु गरिएको जानकारी दिए ।

प्रोफाइललाई थप विश्वसनीय बनाउन नगरउपप्रमुख सबनम खातुनले आग्रह गरिन् । डिजिटल प्रोफाइलले योजना निर्माण तथा बजेट विनियोजनमा देखिएका समस्या समाधानमा ठूलो मद्दत पुग्ने योजना अधिकृत प्रदिप कुमार चौधरीले बताए । प्रोफाइललाई पूर्णता दिन प्रमाणीकरण कार्यशालामा नगरका वडाध्यक्ष एवं कार्यपालिका सदस्य लगायतले छुटेका विषयवस्तुबारे जानकारी गराएका थिए ।
प्रोफाईल निर्माणपछि योजनाहरु छनौटमा सरलता पुग्नुका साथै नगरभित्रका पुर्वाधार, पर्यटकीय स्थललाई समेत संरक्षण गर्नमा टेवा पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।