दैलेख । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेकपालाई संविधानविरोधी भन्दै राज्य विरोधी तत्व भन्दै शान्ति सुरक्षामा चुनौति देखिएपनि सरकारले आधारभूतरुपमा नियन्त्रण गरिसकेको दाबी गरिरहेका बेला दैलेखमा विप्लव समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको छ ।
पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षा बल बढाउन र सुरक्षा निकाय सचेत हुन आग्रह गराएका छन् ।
यस्ता फोन र धम्की अहिले दैलेखका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्मलाई आएको दैलेखका स्थानीय सरकार प्रमुखहरुले बताएका छन् ।
दैलेखका स्थानीय सरकारका प्रमुखहरुलाई ढुक्क भएर बस्न आग्रह गर्दै प्रदेश प्रहरी प्रमुख शाहले भने, ‘तपाईंहरु जनताबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, ढुक्क भएर बस्नुहोस्, अराजक गतिविधि गर्ने जोकोहीलाई प्रहरीले विशेष ढङ्गले खोजी गरिरहेको छ ।’
मुलुक समृद्धितर्फ अगाडि बढ्ने महान् अभियानलाई कसैले पनि अवरोध गर्न नहुने र संविधान विपरीत कार्य गर्ने सबैलाई कार्वाही गर्न सरकार तयार रहेको बताए । विप्लवका गतिविधिलाई सबै मिलेर निस्तेज पार्न सकिने उनको भनाइ थियो ।
उनले संविधानले निषेध गरेका कुरा गर्ने राजनीतिक समूह नभएर अपाराधिक समूह भएको भन्दै प्रहरीले यस्ता गतिविधिको नियन्त्रण गर्ने र यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी कार्वाही प्रक्रियाका लागि कडा कदम चाल्ने बताए ।











प्रतिक्रिया