उपाधि जित्ने नेपालको लक्ष्य


सरोज यादव, विराटनगर
पाँचौं साफ महिला फुटबल च्याम्पियनसीप मंगलबारदेखि विराटनगरमा सुरु हुदैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले घरेलु मैदानमा च्याम्पीयन बन्ने बताएका छन् । सोमबार भएको प्रि–म्याच कन्फेरेन्समा प्रशिक्षक खड्काले तयारी राम्रो भएको र टिम शारीरिक तथा मानसिक रुपमा तयार रहेकाले च्याम्पीयनको हकदार रहेको बताए ।

“च्याम्पीयन बन्ने रणनीति छ । तर पहिलो लक्ष्य समूह विजेता बन्दै सेमिफाइनल पुग्ने हो । खेलाडी मानसिक र शारीरिक दुवै रुपमा तयार छन् । हामी उत्कृष्ट खेल प्रदर्शन गर्नेछौं । सबै टोलीप्रति सम्मान छ । सबैको सम्मान गर्दै खेल प्रदर्शन गर्नेछौं,’‘ प्रशिक्षक खड्काले भने ।

“चीनसँगको मैत्रीपूर्ण खेल त्यसपछि ओलम्पिक छनोट र भारतमा सम्पन्न हिरो वुमेन्स गोल्डकप लगायतका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी उच्च मनोबलमा छन् ।” प्रशिक्षक खड्काले टोली मिलेको र खेलाडीहरु जितको भोकमा रहेको बताए । “हामीसँग मुख्य खेलाडीका रुपमा सावित्रा भण्डारी छन् । उनीसँगै अन्य खेलाडीको प्रदर्शन पनि राम्रो छ । खेलाडीहरु जितको भोकमा छन् । त्यो अनुसार मेहनत पनि गरेका छन् । परिणाम राम्रो आउनेछ ।’’

त्यस्तै टोलीकी कप्तान निरु थापाले तयारी राम्रो भएकाले च्याम्पीयन बन्ने बताइन् । खेलाडीहरु प्रतियोगिताका लागि मानसिक र शारीरिक रुपमा बलियो रहेको उनको भनाइ छ । “पछिल्लो समय भारतलाई हराएका छौं । राम्रो गर्नेछौं, टोली राम्रो बनेको छ । आक्रामक खेल खेल्नेछौं,” निरुले भनिन.।

सहभागि अन्य राष्ट्रले च्याम्पीयनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । आयोजक नेपालका प्रशिक्षक हरि खड्काले च्याम्पीयन बन्ने दाबी गर्दा भारतले पाँचौं उपाधि जित्ने बताएको छ । साफमा सफल राष्ट्र मानिएको भारतकी प्रशिक्षकले भनिन्, “चौथो संस्करणसम्म च्याम्पीयन बनेका छौं । यसपटक पनि उपाधि लग्नेछौं । समूहका बाँकी टोली पनि राम्रा छन् । हामी जित्न आएका हौं । दबाबमा नभई राम्रो खेल प्रदर्शन गर्नेछौं ।”

पछिल्लो समय फुटबलमा फड्को मारेको बंगलादेशले पनि उपाधि लक्ष्य राखेको छ । प्रि–म्याच कन्फेरेन्समा बंगलादेशका प्रशिक्षकले भने, “भारत साफमा बलिलो टोली हो । नेपाल पनि बलियो छ । त्यसैमा घरेलु मैदानको फाइदा छ नेपाललाई । हामी एउटै समूहमा छौं तर सचेत भएर खेल्नेछौं । बाँकी देशपनि बलिया छन् । तर हामी राम्रो प्रदर्शन गर्नेछौं । पहिलो लक्ष्य सेमिफाइनल र त्यसपछि उपाधि हो ।”

६ राष्ट्र सहभागि च्याम्पीयनसिपको उद्घाटन खेलमा आयोजक नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । आयोजक नेपाल रहेको समूह ए मा बंगलादेश र भुटान छन् । समूह बि मा साबिक विजेता भारत, श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपाली टोली
गोलकिपरः एन्जिला तुम्बापो, अन्जना राना मगर, उषा नाथ डिफेन्डरः मनमाया लिम्बु, हिराकुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जोसी, कविता धिमाल, पूजा राना मिडफिल्डरः रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बु फर्वाड ः सावित्रा भण्डारी, निरु थापा, रेखा पौडेल, अनिता केसी

नेपाल भर्सेस भूटान
प्रतियोगिताको पहिलो खेलमा नेपालले भूटानको सामना गर्नेछ । साफ महिला च्याम्पियन्सीपको पाचौं संस्करणसम्म आइपुग्दा नेपाल र भूटान दुइ पटक आमनेसामने भएका छन्। जसमा नेपालले दुवै खेलमा जित हात पारेको छ।