बिद्युत तार भूमिगत गर्ने कामले तीव्रता पायो

0
Shares

सुम्निमा काफले, काठमाडाैं ।  नेपाल विद्यतु् प्राधिकरणले उपत्यकाका विद्युत् तार जमिनमुनि बिछाउने(भूमिगत गर्ने) कार्य तीव्र बनाएको छ । एसियाली विकास बैंकको सहयोगमा हुन लागेको उक्त परियोजनाको केही समय अगाडि बिद्युत प्राधिकरणले कम्पनी छनोटकालागि टेण्डर आह्वान गरेको थियो ।

जसमा २ भारतीय कम्पनी र ४ चाइनिज कम्पनीले सहभागीता जनाएका थिए यी मध्ये भारतीय कम्पनी केइआइ कम्पनी छनोट भएकोे विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कम्पनीसंग सम्झौता भएको २ महिना पछि काम शुरु हुने र ३० महिना भित्र काम सम्पन्न हुने बताउनुभयो । पहिलो चरणमा उपत्यकाको रत्नपार्क र महाराजगंन्ज सडकमा तार भूमिगत गरिने छ । जसमा महाराजगंज सडक खण्डकालागि ३७ मिलियन अमेरिकी डलर र रत्नपार्क सडक खण्डमा ३० मिलियन अमेरीकी डलर लागत लाग्ने भएको छ ।

सुरक्षित र प्रभावकारी विद्युत् प्रसारण तथा ओभरहेड वितरण प्रणालीले शहर कुरूप र असुरक्षित बन्दै गएपछि प्राधिकरणले प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याएको हो । अहिलेको विद्युत् प्रणाली क्षमता अभिवृद्धि गर्न समेत विद्युत्का तारलाई भूमिगत गर्ने योजना ल्याइएको हो ।

अहिलेको विद्युत् आपूर्तिको मागलाई तत्काल ओभरहेड विद्युत् प्रसारण प्रणालीले थेग्न नसक्ने भएकाले तारहरूलाई भूमिगत गर्नुको विकल्प नरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

विद्युत्का तारहरूलाई भूमिगत गर्ने कार्य विभिन्न चरणमा सम्पन्न गरिने भएको छ । पहिलो चरणमा रत्नपार्कदेखि महाराजगन्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई भूमिगत गरिने भएको हो ।

पहिलो चरणमा देखिएको सफलता र अनुभवको मूल्यांकनको आधारमा उपत्यकाका अन्य क्षेत्रका तारलाई भूमिगत गरिने भएको छ । यस्तै पहिलो चरणको सफल परीक्षणपछि नेपाल विद्युत् प्राधिकरणले दोस्रो चरणमा स्मार्ट मिटर पनि जडान गर्ने भएको छ ।

विद्युत् प्रसारणका नाङ्गो तारलाई इन्सुलेटेड केबलबाट प्रतिस्थापन गर्नुका साथै सब–स्टेसन टान्सफर्मरको समेत क्षमता अभिवृद्धि गरिने भएको छ । पहिलो चरणमा ९० हजार ग्राहकको मिटर स्मार्ट मिटरबाट प्रतिस्थापन गरिने प्राधिकरणको योजना रहेको छ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि बिजुली चुहावट नियन्त्रण तथा एउटै कक्षबाट सम्पूर्ण स्मार्ट मिटर जडित ग्राहकको अनुगमन तथा नियन्त्रण गर्न सकिने प्राधिकरणले जनाएको छ ।

अहिले मेलम्ची खानेपानी योजनाले पानीको पाइप गाड्नका लागि खनिएको रत्नपार्क–महाराजगन्ज सडक क्षेत्रमा पिच भइसकेको अवस्था छ । प्राधिकरणको पहिलो चरणमा हुने भूमिगत कार्य त्यसै सडक खण्डमा शुरु गर्ने भएको छ ।

यो योजना सम्पन्न भइसकेपछि उपत्यका सबै क्षेत्र पोल र तार रहित हुनुका साथै हावाहुरी तथा विभिन्न दैवी प्रकोपको बेला विद्युत् आपूर्ति बन्द गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहांले बताउनुभयो ।