नेकाद्धारा हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाहीको माग 

0
Shares

यमलाल भुसाल, बुटवल ।
कुख्यात अपराधी मनोज पुन प्रहरी ईन्काउन्टरमा  मारिए पछि शान्त बनेको रुपन्देहीको देवदह क्षेत्र पुनः आइतबार राति देखि अशान्त बनेको छ ।

रुन्देहीको देवदहमा नेपाल तरुण दलका नगर सदस्य अनिष पुरीको  हत्यासंगै उक्त क्षेत्र अशान्त मय वन्नेको बताईएको छ ।
पुरीको हत्यामा संलग्न पांचजनालाई प्रहरीले पक्राउ गरेको छ् ।

पक्राउ पर्नेहरुमा देवदह ९ का २१ वर्षिय अर्जुन मगर,२० वर्षिय सुवास अर्याल,२८ वर्षिय रमेश शाही,२१ वर्षिय आकाश थापा र २१ वर्षकै शिषिर राना रहेका छन् ।

घटनाका मुख्य योजनाकार देवदहकै माला भन्ने सागर राना र तारा बराल भने फरार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराम भण्डारीले जानकारी दिनु भयो ।

आइतवार राति ८ बजेतिर  मोटरसाइकलमा सवार देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २२  बर्षिय पुरीलाई देवदह भलुहीमा उक्त समूहले ढुंगा र लाठीले प्रहार गरेका थिए ।

टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि  देवदह मेडिकल कलेजमा पुराइएपनि चिकित्सकले मृत घोषणा गरेका हुन ।

देवदहमा सञ्चालित ब्यापार मेलामा पार्किंङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो । विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा सांझ ८ बजेतिर बोलाएर लाठी र ढुंगाले प्रहार गरेका प्रहरीले जनाएको छ ।

मृतक पुरी नेपाल तरुण दलको सक्रिय कार्यकर्ता रहेको कांग्रेस क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले जानकारी दिए । एक मात्र छोरा अनिषको हत्यापछि उनका बुबा र आमा बेहोस भई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ । मृतक पुरीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । यसै बिच नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल देवदह नगर समितिका सदस्य पुरीको हत्या प्रति नेपाली काँग्रेसले हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरेको छ । नेपाली काँग्रेस रुपन्देहीले सोमबार प्रेस विज्ञप्ती जारी गरी हत्या जस्तो जघन्य अपराधले पार्टीको गम्भिर ध्यानाकषण भएको बताउँदै हत्यामा संलग्न भएका व्यक्तिलाई कडा भन्दा कडा कारवाहीको माग गरेको हो ।

नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणद्वारा जारी विज्ञप्तीमा राजनीतिक तथा सामाजिक रुपमा सकृया युवालाई योजनावद्ध तरिकाले गरिएको सांघातिक हत्याबाट सिंगो पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ ।

कदम नउठाए नेपाली काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिईएको छ । त्यस्तै विज्ञप्ती मार्फत शोक सन्तप्त पुरीको परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

त्यस्तै नेपाल तरुण दलले पनि तरुण दल नगर समिति सदस्य पुरीको हत्या प्रति गम्भिर ध्यानाकषण भएको उल्लेख गरेको छ । नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ् र सचिव रमेश शाहीले सोमबार नै संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी गृहमन्त्री सहित सुरक्षा समितिको बैठक रुपन्देहीमै बसीरहँदा घटना हुनुले धेरै खालका आशंकाहरु पैदा गरेको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तीमा राजमार्ग क्षेत्रमै भएको यो घटनाले गृहमन्त्री रामबहादुर थापाको ‘देशमा शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त छ’ भन्ने भनाईलाई हास्यास्पद बनाईदिएको उल्लेख गर्दै घटनाले तरुण युवाहरुलाई आक्रोसित बनाएको र २४ घण्टा भित्र दोशीलाई पक्राउ गरि कारवाही प्रकृया सुरु नगरे ससक्त आन्दोलन गर्ने चेतावनी दिईएको छ ।

यसै बिच रुपन्देहीको देवदहमा हुने गरेका श्रृंखलाबद्ध घटनाले आम नागरिकसँगै ब्यवसायिलाई त्रसित पारेको भन्दै स्थानीय ब्यवसायिक संघसंस्थाले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।  वर्षेनी अपराधिक घटनाहरु दोहोरि रहदापनि प्रहरी प्रशासन मुखदर्शक बनेको र अपराधी यसै उम्कीने गरेको भन्दै ब्यवसायिहरुले प्रहरी प्रशासननको ध्यानाकर्षण गराएका हुन् ।

देवदहको शान्ति सुरक्षालाई चुस्त बनाउन र अपराधिक कृयाकलापलाई निरुत्साहीत गर्न क वर्गको ईलाका प्रहरी कार्यालय स्थापना गर्ने आश्वासन प्रशासनले दिएको थियो, प्रशासनको त्यो आश्वासन आश्वासनमै सिमित भो, हामी चिन्तित छौ, देवदह ब्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकाल र उद्योग ब्यापार संघ देवदहका अध्यक्ष गणेशकुमार खातीले संयुक्त विज्ञप्ती  जारी उक्त माग गर्नु भएको छ ।