धनवीर दाहाल,रुकुम पश्चिम
रुकुम पश्चिममा सवारी चालकको लागी घुम्ती आँखा शिविर मार्फत आँखा चेकजाँच गरिएको छ । मध्यपहाडी लोकमार्ग र राप्ती लोकमार्गमा आवतजावत गर्ने सवारी साधनका चालकहरुलाई लक्षित गरी घुम्ती शिविरमार्फत आँखा चेकजाँच गरिएको हो ।
सडक दुर्घटना न्यूनिकरण अभियान अन्तर्गत रुकुम आँखा उपचार केन्द्र सल्लेको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको व्यवस्थापनमा शिविर सञ्चालन भएको हो । सडकमै सञ्चालन गरिएको उक्त शिविर मार्फत एकसय ३५ जनाको आँखा चेकजाँच गरिएको छ । शिविरमा एकसय बढी बस, ट्रक र ट्याक्टरका चालक र सह–चालकहरुको आँखा जाँच गरिएको छ । जाँच गरिएकाहरुमध्ये धेरैमा रंग पहिचान र रक्तचाप धेरै भएको पाइएको आँखा उपचार केन्द्र सल्लेका इन्चार्ज मञ्जु बोहराले बताउनुभयो ।
चालकहरु प्रायः काममै व्यस्त हुने र आफ्नो अन्य स्वास्थ्य अवस्था र आँखाको जाँच नगराउने समस्यालाई मध्यनजर गरेर यो शिविर सञ्चालन गरिएको इन्चार्ज बोहराको भनाई छ । ‘धेरैले पहिलोपल्ट आँखाको जाँच गराएको पाईयो ।’ उहाँले भन्नुभयो, ‘सवारी चलाउँदा कलर भिजन अर्थात रंग पहिचान एकदम महत्वपुर्ण हुन्छ, धेरैमा यो समस्या पनि देखियो ।’ शिविरमा चेकजाँच गरिएका मध्ये दुई जनामा पूर्ण रुपमा रंग पहिचान गर्न नसक्ने, एक जनामा आंशिक रंग पहिचान गर्न सक्ने र २० जनामा दृष्टि दोष रहेको कारण उनिहरुलाई चस्मा लगाउनुपर्ने सल्लाह दिइएको उहाँको भनाई छ ।
चेकजाँच गरिएकामध्ये ९० प्रतिशतमा उच्च रक्तचाप रहेको बताइएको छ । चेकजाँच गरिएकाहरुलाई आवश्यक औषधीका साथै परामर्श दिइएको, नियमित आँखाको जाँच गराउन सुझाव समेत दिइएको आँखा उपचार केन्द्रले जनाएको छ । सवारी दुर्घटना न्युनीकरण गर्न चालकको नियमित स्वास्थ्य जाँच आवश्यक रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख भरतबहादुर भण्डारीले ट्राफिक सचेतना तथा दुर्घटना न्युनिकरण कार्यक्रम अन्तर्गत यो कार्यक्रम गरिएको बताउनुभयो ।











प्रतिक्रिया