नेपाल समाचारपत्र, काठमाडौं
नेपालको आर्थिक विकासका लागि मित्र राष्ट्र र अन्य संघ÷संस्थाको सहयोग अपरिहार्य रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।
मुलुकको एक्लो पहलले मात्रै आर्थिक विकास संभव नहुने प्रष्ट्याउँदै उहाँले यसका लागि विदेशी सहयोग, सहकार्य र लगानी आवश्यक रहेको बताउनुभयो । नेपाल–जाइका एलमुनाई एशोसिएशनको ४५औँ वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो–‘हामीलाई विकास चाहिएको छ, त्यसैले मित्र राष्ट्र र अन्य संघसंस्थाका प्रयासलाई पनि विकासमा जोडेर अघि बढाउनुपर्छ ।’
एशोसिएशन जापानी सहयोग नियोग (जाइका)मार्फत जापानमा अध्ययन र विभिन्न तालीम पश्चात नेपालका विभिन्न पेशागत र व्यावसायिक क्षेत्रमा संलग्नहरुको सामाजिक संस्था हो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा दात्तृ र मित्र मुलुकको लगानी बढाउनका लागि सरकारले काठमाडौंमा छिटै अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने तयारीमा जुटेको बताउनुभयो । नेपाल–जापान वीचको वर्षौ पुरानो सम्बन्ध स्मरण गर्दै ओलीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत क्षेत्रमा जापानले उपलब्ध गराउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो ।
दोस्रो विश्वयुद्धका क्रममा जापानले ठूलो क्षति व्यहोरेपनि छोटो समयमा हासिल गरेको उपलब्धी विश्वका लागि उदाहरण भएकाले नेपालले जापानको प्रविधि अनुशरण गर्न चाहेको उहाँले बताउनुभयो । सोही कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदूत मासामिची साइगोले जापानमा अध्ययन तथा तालिम लिएर फर्किएकाहरुको अनुभव र ज्ञानले नेपालको आर्थिक विकासमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।











प्रतिक्रिया