सरकारले माग पूरा नगरेकाले समर्थन फिर्ता लिन बाध्य भयौः सांसद यादव

0
Shares

गंगा बराल, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदलाई औपचारिक जानकारी दिएको छ ।
आफ्ना सांसद रेशमलाल चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेपछि राजपाले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । राजपामा १६ सांसद रहेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद यादवले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै आपत्ति जनाउनुभयो । बैठकको सुरुमा नै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरु उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले राजपा सांसद महिन्द्र राय यादबलाई बोल्न समय दिनुभएको थियो ।

सरकारले सधैं झुठा आश्वासन दिएको भन्दै उहाँले अब आशा गर्ने सम्भावना नरहेको बताउनुभयो । यादवले सरकारले पहिले नै संविधान संशोधन गरेको भए त्यसपछि कुनै पनि आन्दोलन गर्नुपर्ने अवस्था नआउनेतर्फ सरकारले ध्यान नदिएको बताउनुभयो । सरकारको २ तिहाई दम्भको कारण, सरकारको गतिविधिको कारण , सरकारको कमजोर प्रस्तुतिका कारण आफूहरुले समर्थन फिर्ता लिएको संसदमा जानकारी गराउनुभयो ।

उहाँले पटकपटक राजपा, अन्य पार्टी तथा विभिन्न पक्षसँग गरेका सम्झौता पूरा गर्न सरकालाई चेतावनी दिनुभयो । सहमति गरेर कार्यान्वयन नगरेकामा उहाँले आपत्ति जनाउनुभयो । यादबले संविधान संशोधनसँगै जेलमा परेका कार्यकर्ताको रिहाई गरिनुपर्ने, अस्पतालमा रहेका घाइतेको सरकारले उपचार गर्नुपर्ने, झुठा मुद्धा खारेज गर्नुपर्नेलगायतका माग गर्नुभयो ।

यादबले स्वतन्त्र मधेश गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके) सँग सरकारले गरेको सम्झौता प्रष्ट पार्नका लागि सरकारसँग आग्रह गर्नुभयो । सम्झौतामा जनमतसंग्रह गर्ने भनिएकोप्रति आपत्ति जनाउँदै उहाँले विखण्डनले मान्यता पाउने खतरा भएकोतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।