ग्रेडरको ठक्करले विद्यार्थीको मृत्यु, पाटन तनावग्रस्त, राजमार्ग अवरुद्ध

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको पाटनमा ग्रेडरले किचेर एक विद्यार्थीको मृत्यु भएपछि दोषीमाथी कारवाही र पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै आफन्त र विद्यार्थीहरु आन्दोलित भएका छन् । शनिवार बेलुका ५ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ बर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा मृत्यु भएको थियो ।

बजार क्षेत्रमा तीव्र गतिमा गुडीरहेको ग्रेडरले अनियन्त्रित भई विमानस्थल लाईनमा पैदल हिँडिरहेका पाण्डेयलाई किचेको थियो । ग्रेडरले ठक्करले पाण्डेयको घटनास्थलमै मृत्यु भए लगत्तै चालक रतन बुढा फरार रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । फरार चालकको शनिवार बेलुका देखि नै खोजी कार्य भइरहेको भएपनि हालसम्म पनि फेला नपरेको उहाँले बताउनुभयो । उक्त ग्रेडर पाटन विमानस्थल कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले प्रयोग गरिरहेको बुझिएको छ ।

आक्राशित आफन्त र विद्यार्थीहरुले अहिले पाटन बजार बन्द गराएर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । यसका साथै पाटन बजारको चोकचोकमा टायर बाल्नुका साथै दोषीमाथी कडा कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । राजमार्ग अवरुद्ध हुँदा बैतडीमा लामो तथा छोटो दुरी सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । भने यात्रुहरु बिच बाटोमै अलपत्र रहेका छन् ।

राजमार्ग सुचारु गर्नका लागि पीडित पक्ष, पाटन नगरपालिका र सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिबीच छलफल गर्ने तयारी भईरहेको बोगटीले जानकारी दिनुभयो ।