शिविरमा ९३ जनालाई नागरिकता

0
Shares

हेटौंडा ।
मनहरी गाउँपालिकाले वडा नम्बर ६ मा एकीकृत घुम्ती सेवा सञ्चालन गरेको छ । मनहरी गाउँपालिका रुपाचुरीस्थित सगरमाथा प्राथमिक विद्यालयमा एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको हो ।

शनिबार नागरिकतासहित सेवासुविधा उपलब्ध गराउन प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, गाउपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित सरोकारवाला खटिएका थिए ।

गाउँपालिकाको आग्रह तथा वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेपाल विद्युत् प्राधिकरण, जिल्ला निर्वाचन कार्यालयलगायत निकायहरुले सेवा प्रदान गरेका हुन् ।

७० वर्षीया साईंलीमाया प्रजालाई नागरिकता हस्तान्तरण गरी सेवा सुरु गर्दै प्रतिनिधिसभा सदस्य खतिवडाले रुपाचुरी क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका मन्त्रालय तथा अन्य निकायहरुमा पहल गर्ने बताउनुभयो । उहाँले खानेपानी समस्या समाधानसँगै आफ्नो निर्बाचन क्षेत्रभित्रका सबै विद्युत पोलहरुलाई विस्थापित गरी फलामे पोल प्रतिस्थापन गर्ने योजना बनाइएको बताउनुभयो ।

शिविरका क्रममा ९३ जनाले नागरिकता पाएका थिए । उनीहरुको मतदाता नामावली सूचीसमेत निर्माण गरी तस्बीर संकलन गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, वडा नम्बर ६ अध्यक्ष गोपीलाल मुक्तान, वडा नमबर ७ अध्यक्ष ठाकुरराम तितुङ, वडा नम्बर ८ अध्यक्ष दिलबहादुर स्यांतान, विभिन्न कार्यालयका प्रतिनिधि, समाजसेवी, शिक्षक तथा अगुवाहरुको सहभागिता थियो ।