नेपाली कांग्रेस विधान अनुसार चल्छः सभापति देउवा

0
Shares

नेपाल समाचारपत्र, म्याग्दी ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आफ्नै विधान भएकाले पार्टी विधान अनुसार चल्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीले आज सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी विधान अनुसार चल्ने बताउनुभएको हो ।

सभापति देउवाले पार्टी भित्रको विवादलाई अन्त्य गर्नका लागि प्रयास गरिरहेको बताउँदै सहमति खोज्दाखोज्दै आफूले काम गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले पार्टी विधान अनुसार चल्नुपर्ने भए पनि त्यसलाई अस्वीकार गर्ने प्रयासमा लागेकाले विवाद निस्किएको भन्दै नेपाल विद्यार्थी संघको विवाद अन्त्य गरिने बताउनुभएको छ ।

महासमितिको बैठकले पारित गरेका विषयप्रति पत्रकारले राखेको जिज्ञासामा देउवाले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला र सुशील कोईरालाले सञ्चालन गरेको पार्टी पद्धतिलाई नै आफूले निरन्तरता दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हिँजो जुन अवस्था थियो पार्टीमा आज त्यही छ, अनि म हुँदा किन परिवर्तन गर्नुप¥यो पार्टी सञ्चालन पद्धति ?’ उहाँले वडाबाटै निर्वाचित भएर आउनुपर्नेमा आफूलाई कुनै समस्या नभएको बताउँदै आगामी महाधिवेशनबाट नयाँ रुप आउने हुँदा महाधिवेशन प्रतिनिधिले पनि केन्द्रीय सदस्यमा चुनाव लड्न पाउने बताउनुभएको थियो ।

कांग्रेस सभापति देउवाले हालै मात्र सरकारले सिके राउतसँग गरेको सहमतिका विषयमा आफूले अध्ययन गर्न बाँकी रहेको बताउनुभएको छ । स्वतन्त्र मधेशका लागि आन्दोलनरत राउत समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन गरेको सहमति सकारात्मक भए पनि सरकारले बुदाँगत रुपमा गरेको सहमतिका बारेमा थप अध्ययन गर्ने उहाँको भनाइ छ ।

दुवै पक्षबीच गरिएको सहमतिमा रहेको जनअभिमतको बुँदालाई गम्भीरतापूर्वक लिएको बताउँदै देश टुक्राउने गरी मधेशमा अस्थितरता ल्याउन जनमत सङ्ग्रहको प्रयास भए पार्टीलाई अमान्य हुने उहाँले चेतावनी दिनुभयो । आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने सरकारको प्रयास भने सकारात्मक रहेको देउवाको भनाइ छ ।