सडक–खानेपानी–शौचालय र सिँचाइमा सात करोड ३४ लाख

0
Shares

गणेश घिमिरे, इलाम
इलामनगरपालिकाले सडक–खानेपानी–शौचालय निर्माण र सिंचाईका लागि सात करोड ३४ लाख ७६ हजार रुपैंयाँ बजेट खर्च गर्ने भएको छ । जसमा नगरमा पाँचवटा सडक स्तरोन्तीका लागि प्रति सडक एक करोड रुपैंयाँका दरले पाँच करोड बजेट बिनियोजन गर्ने निर्णय गरेको छ ।

खानेपानी योजनाका लागि दुई करोड सात लाख, तीनवटा बिद्यालयमा सुबिधायुक्त शौचालय निर्माण गर्न सातलाखको दरले २१ लाख र ऊर्जाबाट पानी तानेर सिँचाई सुविधा पुरयाउने योजनाका लागि छ लाख ४८ हजार रुपैंयाँ बिनियोजन गर्ने नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेको छ ।

नगरपालिकाका प्रबक्ता ठाकुरनारायण श्रेष्ठका अनुसार वडा नम्बर ८ तिल्केनीदेखि माईखोला–बज्रदेवी सडक खण्ड, वडा नम्बर ९ को भञ्जाङ–भाङ्गटार हुँदै वडा नम्बर ११ सोयाक–बेलासे पुग्ने फाष्ट ट्रयाक सडक खण्ड, वडा नम्बर २ को रिब्स स्कुलदेखि र वडा नम्बर ५ को सुम्बेकसम्मको सडक खण्ड, वडा नम्बर १ साँखेजुङको मिलगोलाइदेखि वडा नम्बर ३ पुवामझुवाको विणापानी स्कुलसम्मको सडक खण्ड, वडा नम्बर ७ को रत्नचोकदेखि वडा नम्बर ९ इन्टेक हुँदै वडा नम्बर १२ को साङ्गरुम्वा सडक खण्डका लागि एक÷एक करोड रुपैंयाँका दरले बजेट बिनीयोजन गर्ने निर्णय गरेको हो । यसैगरी पुवाखोला चिन्तेसाँघु खानेपानी आयोजनाका लागि दुई करोड सात लाख २८ हजार रुपैयाँ बिनियोजन गर्ने भएको हो ।

तीनवटा विद्यालयहरु वडा नम्बर १० गोदकको पूर्णस्मारक मावि, वडा नम्बर १२ को साङ्गरुम्वा मावि र वडा नम्बर ४ माईपोखरी जस्वीरेको बालमण्डल माविमा खानेपानी तथा स्वास्थ्य र सरसफाई सुविधायुक्त शौचालय निर्माणका लागि सात–सात लाख रुपैयाँको दरले २१ लाख रुपैंयाँ बिनियोजन गर्ने निर्णय गरेको नगरपालिकाका मेयर महेश बस्नेतले बताए । यसैगरी नगरपालिकाको आर्थिक वर्ष २०७५–०७६ को सौर्य ऊर्जा प्रविधि जडान कार्यक्रम अन्तर्गत वडा नम्बर ११ सोयाक स्थित निर्फोकमा सौर्य ऊर्जाबाट पानी तानेर सिँचाई सुविधा उपलब्ध गराउने गरी छ लाख ४८ हजार रुपैयाँ बिनियोजन गर्ने भएको छ ।