चालीस वर्षपछि आधुनिक भवनमा प्रहरी

0
Shares

हेटौंडा, (नेस)
हेटौंडा–६, चौघडामा करिब ४० वर्षपछि प्रहरीले आफ्नो आधुनिक भवन पाएको छ । २०३५ ताका छाप्रोबाट शुरु भएको प्रहरी सेवा शुक्रबारदेखि विधिवत् आधुनिक भवनबाट थालिएको हो ।

नवनिर्मित भवनको उद्घाटन प्रदेश–३ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा उहाँले प्रहरीमा हुने भ्रष्टाचारलाई शून्यमा झार्न उक्त प्रहरी चौकीबाट सुरुवात भएको बताउनुभयो ।

नवनिर्मित कार्यालय, ब्यारेक, मेस तथा शौचालयसहित १० कोठे भवन उद्घाटन कार्यक्रममा नायब महानिरीक्षक थापाले प्रहरीलाई जनताको सेवामा कञ्जुस्यार्इं नगर्न निर्देशन दिनुभयो । समाजमा हुने हत्या, हिंसा तथा आपराधिक कार्य रोक्न समाजको भूमिका अहम् रहने भन्दै जनता र प्रहरी एकर्काका परिपूरक भएको उहाँले बताउनुभयो ।

हेटौंडा–६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले २०७२ को भुकम्पकका कारण प्रहरी भवन जीर्ण भएको भन्दै २०७४ जेठबाट निर्माण सुरु भएको बताउनुभयो ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भवन निर्माणमा सहयोग गर्नेलाई धन्यवाद दिँदै सेवामा कमी नआउने बताउनुभयो । पत्रकार महासंघ प्रदेश अध्यक्ष प्रताप बिष्टले प्रहरीले जीर्ण भवनबाट जोखिमपूर्ण तरिकाले दिनरात नभनी जनताको सेवा गरेको र नयाँ भवनले प्रहरीलाई सेवा दिन थप ऊर्जा प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाका इञ्जिनियर प्रहरी नायब उपरीक्षक अनिल राणाले भवन निर्माण सम्बन्धि प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको १ करोड १९ लाख ६२ हजार लागतमा प्रेरक कन्स्ट्रक्सन एण्ड प्रिफ्याब होम प्रालिले निर्माण गरेको भवनमा कार्यालय, ब्यारेक, मेस तथा शौचालय गरी १० कोठा छन् ।