रकम नदिएको भन्दै ठेकेदारले उखेल्यो सोलारबत्ती

0
Shares

विमल विष्ट, डोटी
डोटी जिल्लाको प्रमुख व्यापारी केन्द्र दिपायलमा जडान गरीएका सोलार अर्थात सौर्यबत्तीहरु ठेकेदारले उखेल्न थालेको छ । आफुहरु सँग गरिएको सम्झौता अनुसार रकम नदिएको भन्दै सरकारी अनुदानमा दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्तीहरु ठेकेदारले धमाधम उखेल्न सुरु गरेको हो ।
ठेकेदार कम्पनी मनिङ्ग सनले पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती झिक्न लागेको ठेकेदार वेदप्रकाश कठायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दिपायल सिलगढी नगरपालिकाले हामीले जडान गरेका ७ बत्तीको ७ लाख रुपैया लामो समय बित्दापनि नदिएपछि झिक्न थालेका हौँ ।’
तत्कालीन दिपायल सिलगढी नगरपालिकाका कार्यालय प्रमुख तुलसीप्रसाद आचार्यले उक्त कम्पनी सँग सम्झौता गरेको र त्यतिबेला रकम भुक्तानी नभएको र उहाँ सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न नसकिने अवस्थाले रकम नदिएको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समयमै काम सम्पन्न नगरी बिल भरपाई नदिएकाले त्यो बेला भुक्तानी दिएन,अहिले हामी सँग रकम छैन् कहाँबाट दिने ।’
डोटी उद्योग बाणिज्य संघसँग २०७३ फागुन १७ मा नगरपालिकाले ३० लाखको ३० पोलको सम्झौता गरि सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यस पछि उद्योग वाणिज्य संघले उक्त काम २०७३ फागुन ६ गते मनिङ्ग सन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो ।

कम्पनीले काम गरेवाफत दुई पटकको किस्ता गरि २३ लाख रुपैया भुक्तानी पाइसकेपछि अन्य रकम उद्योग बाणिज्य संघलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । ठेकेदारले बत्ती भिक्न लागेपछि बजार अन्धकार हुने भन्दै दिपायलका स्थानीय दुखी हुन थालेको स्थानिय रामबहादुर विष्टले बताउनुभयो ।

त्यस्तै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले ठेकेदारलाई तत्काल बजारमा भएका सौर्यबत्ती नउखेल्न आग्रह गरेको बताउनुभयो । सौर्यबत्तीका कारण रातीको समयमा झिलिमिली हुने दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्लाबजार अब अन्धकार हुने भएको छ ।