कट्टरपन्थी संगठन सञ्चालनमा रोक


इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उनको सरकार देशमा देशबाहिर हुने आक्रमणमा संलग्न हुने कुनै पनि कट्टरपन्थी संगठन सञ्चालन हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

गत वर्ष अगस्टमा प्रधानमन्त्री पद सम्हालेका इमरान खानले पूर्वसरकारहरूमाथि कट्टरपन्थी र अतिवादी संगठनलाई प्रोत्साहन दिएको आरोप लगाएका थिए। पहिलेका कुनै पनि सरकारले यस प्रकारका संगठन र व्यक्तिमाथि कारबाही नगरेको पनि उनले बताए।

तहरिक ए इन्साफ पार्टीको सरकार बनेपछि राष्ट्रिय कार्ययोजनामा गम्भिरतापूर्वक काम भइरहेको इमरानले बताए। यसअन्तर्गत आतंकवाद र अतिवादमाथि नियन्त्रण गर्न काम गरिरहेको उनले बताए। सिंधको थारपारकर जिल्लामा एक सभालाई सम्बोधन गर्ने क्रममा इमरान खानले उक्त कुरा बताएका हुन्।

पुलवामा आत्मघाती हमलामा जैश ए मोहम्मदको संलग्न रहेको तथ्य बाहिर आएपछि पाकिस्तानमाथि ऊ विरुद्ध कारबाही गर्न दबाब बढिरहेको छ। जैशका नेता मसुद अजहर भारतको संसद् र पठानकोटजस्ता हमलाका सूत्रधार मानिन्छ।