‘समान सोच र व्यवहार, समृद्धिको आधार’

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर
मानवअधिकार सञ्चार प्रतिष्ठान नेपाल र गुन्डू रेडियो स्रोत क्लबले शनिबार सूर्यविनायक नगरपालिका–७ गुण्डूमा लैंगिक समानताका लागि ‘समान सोच र व्यवहार समृद्धिको आधार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा १०९औं अन्तर्राष्ट्रिय महिला दिवस सूर्यविनायक नगरपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा स्थानीय र जनप्रतिनिधिबीच छलफल गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति भक्तुपरका उपप्रमुख सरीता कुँवरले समुदायले महिलाप्रति गरिने व्यवहारमा जति मात्रामा परिवर्तन आउनुपर्ने हो त्यति आउन नसकेको बताउनुभयो।

उहाँले विकास निर्माणमा महिलाको प्रत्यक्ष संलग्नता हुँदा विकास निर्माणको कामले तीव्रता पाउने विश्वास व्यक्त गर्नुभयो। सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले सूर्यविनायक नगरपालिकाले विकास निर्माणको काममा गुणात्मक प्रगति गर्दै गएको बताउनुभयो। विकास निर्माणको काममा सबै लाग्नुपर्ने चर्चा गर्दै उहाँले नगरपालिका क्षेत्रमा भएका विकास निर्माण अन्य स्थानीय तहका लागि पनि नमुना बन्दै गएको बताउनुभयो।

मानवीय आस्था नेपालका कार्यक्रम संयोजक जयराम वाग्लेले महिला जागरुक हुँदा मात्र समाजले गुणात्मक प्रगति गर्न सक्ने भन्दै त्यसका लागि संस्थाले सचेतना र जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो। भैरवी आधारभूत विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले स्थानीय तहको निर्वाचनपछि विद्यालयको शैक्षिक र भौतिक अवस्थाले काँचुली फेरिएको बताउनुभयो।

गुण्डू रेडियो स्रोता क्बलका संयोजक गणेश वाग्लेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सामजिक अनुसन्धानकर्ता अप्सरा भुर्तेल र स्थानीय सहभागीले कार्यक्रमबाट नगरपालिका र टोलमा भएका विकास निर्माणको बारेमा जान्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्नुभयो।