समान शक्ति, स्वतन्त्रता प्रतिनिधित्व सुनिश्चित गर्न माग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अन्तर्राष्ट्रिय संस्था प्लान इन्टरनेसनलको विश्वव्यापी सामाजिक अभियान गल्र्स गेट इक्वेल नेपालमा ५ वटा प्रदेशमा कार्यक्रम गरी शुरुआत गरिएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युवाका अगुवाइमा सुनसरी, रौतहट, मकवानपुर, बाग्लुङ र बाँकेमा आयोजित कार्यक्रममा किशोरीका लागि समान शक्ति प्रदान गर्नुपर्ने सन्देशसहित अभियान शुरू भएको हो।

किशोरीको अधिकार र सशक्तीकरणका लागि पैरवी गरिरहेका ५ जना किशोरकिशोरीले अभियान शुभारम्भ कार्यक्रममा बालविवाह, मानव बेचविखन, महिला हिंसा, विभेद जस्ता समस्याविरुद्ध आफ्नो अगुवाइमा भएका गतिविधि समेटेर सहभागीलाई कथा सुनाएका थिए। उनीहरूले लैंगिक समानताका लागि महिला र किशोरीलाई समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्व प्रदान गर्नुपर्ने माग समेत गरेका छन्।

सो अवसरमा किशोरकिशोरीहरूले कथामार्फत आफ्नो समुदायमा किशोरीहरूले भोग्नु परिरहेका समस्या, ती समस्यालाई चिर्न गरिएको योगदान, अहिले भइरहेका परिवर्तनलगायत विषयबारे धारणा राख्दै किशोरी र महिलाको हितका लागि सहयोग गर्न आ≈वान समेत गरेका छन्। सुनसरीकी किशोरी अलबिना प्रविनले बाल विवाहका कारण बालिका र किशोरीको जीवन कष्टकर बन्ने भएकाले यसलाई रोक्न सबै पक्षको सहयोग आवश्यक भएको बताइन्।

प्लान इन्टरनेसनलले अघि सारेको यो अभियानले किशोरी समान नभएसम्म कोही पनि समान हुन सक्दैनन् भन्ने सन्देशसहित उनीहरूमा समान शक्ति, समान स्वतन्त्रता र समान प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ।

अभियान घोषणा कार्यक्रममा सम्बन्धित क्षेत्रका जनप्रतिनिधि, नागरिक संस्थाका प्रतिनिधि, महिला समूह र किशोरी सञ्जाल, बाल क्लव, युवा क्लबका प्रतिनिधिलगायतको सहभागिता थियो। अभियान घोषणा कार्यक्रम प्लान इन्टरनेसनल नेपाल, नेपाल युवा संस्था सञ्जाल ९आयोन० र परिवर्तनका लागि हामी नामक संस्थाको समन्वयमा भएको हो।