प्रदेश–३ को नृत्यमा तिलिङटार अब्बल

0
Shares

बुकबर्ड नेपालको आयोजना तथा समाज कल्याण परिषद् काठमाडौं र टोखा नगरपालिकाको सहयोगमा प्रदेश नं ३ भित्रका सामुदायिक र संस्थागत विद्यालयबीच बेग्लाबेग्लै नृत्य प्रतियोगिता सम्पन्न भएको छ। हेराल्ड स्कुल वसुन्धराको हलमा भएको प्रतियोगितामा २९ विद्यालयको सहभागिता रहेको थियो। सामुदायिक विद्यालयतर्फ तिलिङटार मावि धापासी प्रथम, मनोहरा मावि गोंगबु द्वितीय र गणेश मावि बूढानीलकण्ठ तृतीय भएका छन्, यसै समूहमा जालुपा मावि गोंगबु र सरस्वती मावि टोखाले चौथो तथा पाँचौं पुरस्कार पाएका छन्।

संस्थागत विद्यालयतर्फ शुभकामना स्कुल टौदह प्रथम, ग्रिनल्यान्ड मावि गोंगबु द्वितीय तथा वसुन्धरा नेसनल एकेडेमी वसुन्धरा तृतीय भएका छन्। यस समूहमा लोरोसेन्ट मावि गोंगबु र न्यु क्यासल स्कुल वसुन्धराले चौथो तथा पाँचौं पुरस्कार पाएका छन्। दुई दिनसम्म सञ्चालित नृत्य प्रतियोगिताको शुभारम्भ टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता बुकबर्ड नेपालका अध्यक्ष रामबाबु सुवेदीले गरेका थिए। नगदसहित प्रमाणपत्रको व्यवस्था गएिको समूहगत नृत्य प्रतियोगितामा २ सय ९० विद्यार्थीले नृत्य गरेका थिए भने ९० विद्यार्थी पुरस्कृत भएका थिए। कार्यक्रममा संगीतकार रामेश श्रेष्ठ, डिल्लीप्रसाद चापागाईं र डा। श्यामसुन्दर चौधरीका संगीत रहेका बालगीतमा नृत्य प्रस्तुत गरिएका थिए भने नृत्यमा प्रयोग गरिएका सबै बालगीत बालसाहित्यकार, प्राज्ञ रामबाबु सुवेदीका थिए।

प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक कमल राई, गायिका विमला राई र नायिका सञ्चिता लुइँटेल थिए। बुकबर्ड नेपालका उपाध्यक्ष करुण थापाले स्वागत र आजीवन सदस्य अरूण श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रम महासचिव डा। श्यामसुन्दर चौधरीले सञ्चालन गरेका थिए।