अझै हराइरहेका छन् झन्डै हजार बालबालिका

0
Shares

सुम्निमा काफ्ले, काठमाडौँ
देशभरका ९ सय ६१ जना बालबालिका अझै हराइरहेको पाइएको छ। यसरी हराउनेमा २ सय ८४ बालक र ६ सय ७७ बालिका छन्।
बालबालिका खोजलतास समन्वय केन्द्रका अनुसार चालू आर्थिक वर्ष (२०७५/०७६) को माघ मसान्तसम्ममा देशभरबाट १ हजार ९ सय २१ बालबालिका हराएका थिए। तीमध्ये ९ सय ७० बालबालिका फेला परेका छन्। फेला पर्नेमा ३ सय ३२ बालक र ६ सय ३८ बालिका रहेका छन्।
केन्द्रको तथ्याङ्क हेर्दा तराई–मधेसकेन्द्रित प्रदेश नम्बर दुईमा सबैभन्दा बढी ९२१४० बालबालिका हराएको देखिन्छ। यस्तै थोरै बालबालिका हराउने प्रदेश गण्डकी ९६३० रहेको छ।

उक्त केन्दका प्रमुख मोहनविक्रम दाहाल आर्थिक विपन्नता, पारिवारिक कलहका कारण माया र रेखदेखको कमी, साथीभाइसँगको संगतजस्ता कारणले बालबालिका हराउने हुने गरेको बताउनुहुन्छ।

उक्त तथ्याङ्क केलाउँदा प्रदेश नम्बर १ मा १ सय ८३, ३ मा १ सय ५२, ५ मा १ सय ८४, कर्णाली प्रदेशमा ९२ र सुदूरपश्चिम प्रदेशमा ७३ जना बालबालिका अझै हराइरहेका छन्।

प्रदेश नं २ मा सबैभन्दा बढी, गण्डकीमा कम
हराउनुको कारण: आर्थिक विपन्नता, पारिवारिक कलह, माया र रेखदेखको कमी, साथीभाइसँगको संगत

केन्द्रको पछिल्लो तथ्याङ्कमा प्रदेश नम्बर १ मा ८६ बालक र २ सय ५० बालिका हराएका थिए। यीमध्ये ३८ बालक र १ सय १५ बालिका फेला परेका छन् भने ४८ जना बालक र १ सय ३५ बालिका अझै फेला परेका छैनन्।

प्रदेश नम्बर २ मा ७८ बालक र २ सय ५५ बालिका हराएकामा ३८ बालक र ८१ बालिका गरी १ सय १९ जना फेला परेका छन् भने अझै ४० बालक र १ सय ७४ बालिका पाइएका छैनन्।

प्रदेश नम्बर ३ को उपत्यकाभित्र ७१ बालक र ४८ बालिका र उपत्यकाबाहिरका ८९ जना बालक र १ सय ८४ बालिका हराएकामा उपत्यकाभित्रका ४६ बालक र ३२ बालिका फेला परेका छन् भने फेला पर्न अझै २५ बालक र १६ बालिका रहेका छन्।

उपत्यकाबाहिरका ८९ बालक र १ सय ८४ बालिका हराएमा ५५ बालक र १ सय ७ बालिका फेला परेका छन् भने ३४ बालक र ७७ बालिका अझै पत्ता लागेका छैनन्।

गण्डकी प्रदेशमा हराउनेमा ४५ बालक र १ सय ५४ बालिका थिए। यसमा २८ बालक र १ सय ८ बालिका फेला परेका छन् भने १७ बालक र ४६ बालिका अझै फेला परेका छैनन्।

प्रदेश नम्बर ५ मा १ सय १३ बालक र २ सय २५ बालिका गरी ३ सय ३८ बालबालिका हराएकामा ६२ बालक र ९२ बालिका फेला परेको र ५१ जना बालक र १ सय ३३ बालिका नपाएको बताइएको छ।

कर्णाली प्रदेशमा ६९ बालक र १ सय ६ बालिका हराएको उजुरी परेकोमा ३७ बालक र ४६ बालिका फेला परेका छन् भने ३२ बालक र ६० बालिका अझै फेला परेका छैनन्।

सुदूरपश्चिम प्रदेशमा ६५ बालक र ९३ बालिका गरी जम्मा १ सय ५८ वेपत्ता उजुरी परेको थियो। यसमध्ये २८ बालक र ५७ बालिका फेला परेका छन् भने ३७ बालक र ३६ बालिका हराएका छन्। यस तथ्याङ्कअनुसार देशभर जम्मा ६ सय १६ बालक र १ हजार ३ सय १५ बालिका हराएका थिए। यसमा ३ सय ३२ बालक र ६ सय ३८ बालिका फेला परेका छन् भने २ सय ८२ बालक र ६ सय ७७ बालिका अझै हराइरहेका छन्।

फेला परेका सबै बालबालिकाको अभिभावक रहेको जनाउँदै केन्द्रले फेला नपरेका बालबालिकाका अभिभावकसँग समन्वय गरी खोज्ने काम भइरहेको जानकारी दिएको छ।