राष्ट्रपति भण्डारी आज न्यूयोर्क जाँदै

0
Shares

काठमाडौं, (नेस)
संयुक्त राष्ट्र संघको महिला शसक्तिकरण सम्बन्धी कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज आइतवार साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ।
मंगलबार उहाँले ‘कमिसन अन द स्टेट्स अफ उमन’ ९सीएसडब्लु०को ६३ औं बैठकलाई सम्बोधन र यस क्रममा उच्चस्तरिय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा सहभागी हुने राष्ट्र प्रमुख र सरकार प्रमुखको सम्मानमा भोली सोमबार साँझ राष्ट्रसंघिय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गर्ने रात्री भोजमा उहाँसहितको नेपाली टोली सहभागी हुँदैछ।

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसंघका महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैगरी इष्टोनिया र क्रोएसिया राष्ट्रपति केर्स्टी कालजुलेड तथा कोलिण्डा ग्राबर किटारोभिचसँग उहाँले द्विपक्षीय वार्ता गर्ने मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।

यसैबीच राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधी अमृतबहादुर राईले महासचिव गुटरेसलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ। शुक्रवार राईले प्रमाणपत्र पेश गर्नुभएको परराष्ट्रले जनाएको छ।

यसक्रममा महासचिव गुटरेसले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितका व्यक्तिको हेलिकप्टर दुर्घटनामा निधन भएकोमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।

साथै राष्ट्र संघले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक र अन्य प्राविधिक सहयोगले निरन्तरता पाउने गुटरेसले बताउनुभएको उक्त विज्ञप्तीमा उल्लेख छ।