चन्द समूहप्रति कडा हुने सरकारको संकेत

0
Shares

प्रकाश पन्त, बीरेन्द्रनगर ।
मधेसमा छुट्टै राज्य बनाउने भन्दै आन्दोलन गरेको सीके राउत समूहलाई मूलधारमा ल्याए लगत्तै सरकार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाविरुद्ध कडा रुपमा प्रस्तुत हुने देखिएको छ ।

शनिबार कर्णाली प्रदेशस्तरी सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएका गृहमन्त्री थापाले विध्वंसात्मक गतिविधि विस्तार गरिरहेको भन्दै चन्द नेतृत्वको नेकपा विरुद्ध कठोरताका साथ प्रस्तत हुने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश विकासमा अघि बढिरहेकोले अहिले विद्रोह गर्ने बस्तुगत आधार नभएको भन्दै उनले विध्वंसात्मक गतिविधि त्यागेर आफ्ना माग र विचारलाई लोकतान्त्रिक ढंगवाट राख्न आग्रह गर्दै मूलधारमा आउन अपिलसमेत गरे ।

स्थानीय तहमा चन्दा उठाउने लगायतका चन्द नेतृत्वको नेकपाको क्रियाकलापप्रति लक्षित गदै गृहमन्त्री थापाले सरकार सुरक्षाको प्रत्याभूति दिन कटिवद्ध रहेको बताए ।

सुर्खेतमा बिहीबारदेखि चलिरहेको सुरक्षा गोष्ठीमा सहभागी जिल्लास्थित सुरक्षा प्रमुखहरुले समेत चन्द नेतृत्वको गतिविधि चुनौतीको रुपमा रहेको औंल्याएका छन् । उनीहरुले चन्द नेतृत्वको नेता कार्यकर्तालाई कुन रुपमा कारबाही गर्ने भन्नेबारे स्पष्ट नहुँदा समस्या भएको समेत एक सहभागीले बताए ।