दीपेन्द्रको अर्धशतकः च्यारिटी खेलमा राष्ट्रिय क्रिकेट टोली विजयी


हेटौंडा ।
मकवानपुरका पूर्वक्रिकेटर निरज श्रेष्ठको उपचारका लागि शनिबार हेटौंडामा पुरुष राष्ट्रिय क्रिकेट टोली र मकवानपुरबीच च्यारिटी खेल भएको छ ।
रक्तक्यान्सरको उपचार गरिरहेका हेटौंडेली क्रिकेटर श्रेष्ठको सहयोगार्थ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नेतृत्वको टोलीले हेटौंडामा मैत्रीपूर्ण खेलमा सहभागिता जनाएको हो ।

च्यारिटी खेलमा पारस नेतृत्वको टोलीले मकवानपुरलाई २ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले एकसय ७२ रनको लक्ष्य प्रस्तुत गरेका थियो । जवाफी ब्याटिङमा उत्रिएको राष्ट्रिय क्रिकेट टोलीले अन्तिम ओभरको २ बल बाँकीहुँदा लक्ष्य भेट्टाएको हो ।

जवाफमा पारस–११ का लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै २ बल बाँकी रहँदा २ विकेटको जित दिलाए । एक समय ५६–५ को निकै कमजोर स्थितिमा रहेको पारस–११ का लागि सोमपाल कामी र दीपेन्द्रले उत्कृष्ट साझेदारी गरे । नवौं विकेटका लागि ७८ रनको साझेदारी गर्ने क्रममा सोमपालले २९ रन जोडे । दीपेन्द्रले नटआउट ६२ रनको योगदान दिए ।

खेलका दौरान विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुले नगद सहयोग गरेका थिए । यसक्रममा कप्तान पारस खड्काले व्यक्तिगत २५ हजार रुपियाँ सहयोग घोषणा गरियो । फुटबल खेलाडीद्वय रञ्जन र अञ्जन बिष्टले १० हजार सहयोग गरे ।

मकवानपुरका खेलाडी टोलीको नेतृत्व रामनरेश गिरीले गरेका थिए । पारस–११ टोलीमा राष्ट्रिय टोलीका खेलाडीका साथै फुटबल खेलाडीद्वय रञ्जन र अञ्जन बिष्ट थिए । पारस–११ बाट सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, अनिलकुमार शाह, अमित श्रेष्ठ, महबुब आलम, आरिफ शेख, सन्दीप जोरा, अमित श्रेष्ठ, अनिल मण्डललगायतले खेलेका थिए ।

मकवानपुर क्रिकेट एकेडमी, मकवानपुर जिल्ला क्रिकेट संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा भएको च्यारिटी खेलमा कला क्षेत्रका व्यक्तित्वहरुले पनि आफ्ना प्रस्तुति दिएका थिए ।

राष्ट्रिय टोलीका कप्तान खड्काले खेलाडीको रुपमा क्रिकेटलाई मकवानपुर क्षेत्रमा स्थापित गर्ने व्यक्तित्वको सहयोग गर्न आफू सहभागी भएको बताए । ‘मकवानपुरमा क्रिकेट स्थापित गर्न श्रेष्ठको योगदान ठूलो छ । क्यान्सरबाट ग्रसित हुँदा हामीले आफ्नो स्थानबाट सहयोगको अपिल गर्दैछौं,’ उनले भने–सकेसम्म धेरै रकम जम्मा होओस् भन्ने हामीले चाहेका छौं । संकलित रकमले उपचार सफल होस् भन्ने कामना गर्दछु ।

विश्व क्रिकेटमा नयाँ शक्तिको रुपमा उदय भएको नेपाली राष्ट्रिय टिमले वान डेको मान्यता पाएको सफलतासँगै युएईविरुद्ध वान डे तथा टी–२० सिरिज जितेको नेपाली टोलीलाई हेटौंडा उपमहानगरपालिकाले भव्य स्वागत गरेको थियो ।

हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले राष्ट्रिय टोलीका खेलाडीलाई रातोमाटे पुगेर माला, खादा र टीका लगाएर स्वागत गरेका थिए । राष्ट्रिय टोलीका खेलाडीलाई स्वागत गर्दै हेटौंडा बजार परिक्रमा गराइएको थियो ।

राष्ट्रिय टोलीका खेलाडीलाई हेटौंडा बजार परिक्रमा गराउने क्रममा हेटौंडाबासीले खेलाडीको समर्थनमा नारा लगाएर खुशी व्यक्त गरेका थिए । पूर्वाधार अभावमा पनि टी–२० क्रिकेट विश्वकप खेलिसकेको नेपाली राष्ट्रिय टोलीलाई हेटौंडामा स्वागत गर्न पाउँदा नगरबासी खुशी भएका थिए ।

कप्तान खड्काले क्रिकेट बोर्ड नहुँदा मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि निरन्तर संघर्ष गर्नुपरेको बताए । उनले भने–नेपालमा हाम्रा अभिभावक छैनन् । अनफिल्डमा लड्छौं, अफफिल्डमा पनि लड्छौं । खड्काले नेपालमा क्रिकेटको क्रेज बढाउन प्रतियोगिता महत्वपूर्ण हुने बताए । उनले देशमा क्रिकेट बोर्डको आवश्यकता औंल्याए ।

आयोजक समिति संयोजक अनुपप्रसाद सेनुरियाले प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम हाल भारतमा क्यान्सर उपचार गराइरहेका श्रेष्ठको थप उपचारमा खर्च गरिने बताए । प्रतियोगिताबाट ३० लाख रुपियाँसम्म आर्थिक संकलन गर्न सकिने लक्ष्य राखिएको छ । उनको उपचारमा करिब ६० लाख रुपियाँ खर्च हुने अनुमान छ ।

कार्यक्रमलाई थप आकर्षक बनाउन र उद्धेश्यमाथि ऐक्यवद्धता जनाउँदै हेटौंडेली चर्चित गायकहरु सुजिल कर्माचार्य, विजय कार्की, कमल क्षेत्री र विद्या तिवारीले मैदानमै सांगीतिक प्रस्तुति पस्किएका थिए ।