‘समान सोच र व्यवहार, समृद्धिको आधार’

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल र गुण्डू रेडियो स्रोत क्लबले शनिवार सूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डू) मा लैङ्गिक समानताका लागि ‘समान सोच र व्यवहार समृद्धिको आधार’ विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस सूर्यविनायक नगरपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा स्थानीय र जनप्रतिनिधिबीच छलफल गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तुपरका उपप्रमुख सरीता कुँवरले समुदायले महिलाप्रति गरिने व्यवहारमा जत्ति मात्रामा परिवर्तन आउनुपर्ने हो त्यक्ति आउन नसकेको बताउनुभयो ।

उहाँले विकास निर्माणमा महिलाको प्रत्यक्ष संलग्नता हुँदा विकास निर्माणको कामले तिब्रता पाउने विश्वास व्यक्त गर्नुभयो । सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले सूर्यविनायक नगरपालिकाले विकास निर्माणको काममा गुणत्मक प्रगति गर्दै गएको बताउनुभयो । विकास निर्माणको काममा सबै लाग्नुपर्ने चर्चा गर्दै उहाँले नगरपालिका क्षेत्रमा भएका विकास निर्माण अन्य स्थानीय तहका लागि पनि नमूना बन्दै गएको बताउनुभयो ।

मानविय आस्था नेपालका कार्यक्रम संयोजक जयराम वाग्लेले महिला जागरुक हुँदा मात्र समाजले गुणात्मक प्रगति गर्न सक्ने भन्दै त्यसका लागि संस्थाले सचेतना र जिविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । भैरबी आधारभूत विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले स्थानीय तहको निर्वाचनपछि विद्यालयको शैक्षिक र भौतिक अवस्थाले काँचुली फेरिएको बताउनुभयो ।
गुण्डू रेडियो श्रोता क्बलका संयोजक गणेश वाग्लेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सामजिक अनुसन्धानकर्ता अप्सरा भुर्तेल र स्थानीय सहभागिले कार्यक्रमबाट नगरपालिका र टोलमा भएका विकास निर्माणको बारेमा जान्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्नुभयो ।