बालबालिकाले मागे वडाको १५ प्रतिशत बजेट

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा आयोजना गरिएको वडास्तरीय बाल भेला दश बुँदै घोषणा पत्र जारी गर्दै वडाको पन्ध्र प्रतिशत बजेट माग गरेका छन् । क्व्होलासोथर गाउपालिका– १ को वडास्तरीय बाल क्लब सञ्जालले सो घोषणा र माग गरेको हो ।

सो अवसरमा जारी घोषणा पत्रमा वडालाई बालविवाह मुक्त बनाउने, सबै बालबालिकाको जन्म दर्तालाई सुनिश्चित गर्ने, विद्यालय बाहिर रहेका बालबालिकबा लागि विद्यालयमा ल्याउन पहल गर्ने, लैङ्गिक तथा जातीय विभेदले बालबालिकामा पर्ने असरलाई अन्त्य गर्न पहल गर्ने उल्लेख गरिएको बाल क्लब सञ्जालका अध्यक्ष सुनिल तामाङले बताए । उहाँका अनुसार घोषणा पत्रमा वडाको पन्ध्र प्रतिशत बजेट बालबालिको लागि छुट्याउन पहल गर्ने, वडालाई मध्यपान तथा लागू औषध सेवनलाई पूर्ण रूपमा प्रतिवद्ध लगाउन पहल गर्ने, वडा कार्यालयलाई वर्षमा कम्तिमा एउटा बाल भेलाको आयोजना गर्न लगाउने, वडा स्थित बालज्योति माविमा विज्ञान प्रयोगशाला स्थापनाको लागि दबाब दिने रहेको छ ।

सो वडास्तरीय बाल क्लबले बाल भेलाका लागि ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) नेपाल लमजुङले समन्वयात्मक भूमिका खेलेको आरसिडिसीका अनुगमन, मूल्यांकन तथा जवाफदेहिता अधिकृत कुुसुम के.सी.ले बताउनु भयो । उहाँका अनुसार आरसिडिसीले वल्र्ड भिजन इन्टरनेसनलको सहयोगमा संचालित शिक्षा र स्पोन्सरसिप परियोजना अन्तरगत बाल भेलालाई सार्थक बनाउन मद्दत गरेको हो ।

सोही वडाका अध्यक्ष पेमा गुरुङको प्रमुख आतिथ्यतामा भएको सो भेला वडास्तरीय बाल क्लब सञ्जालका अध्यक्ष सुनिल तामाङको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अथिति गुरुङले वडालाई बालमैत्री बनाउन वडा लागि परेको बताउनुभयो । उहाँले बालबालिकाको क्षेत्रमा वडाले केही बजेट विनियोजन गरेको बताउनुभयो । जनज्योति माध्यामि विद्यालयका प्रधानाध्यापक बिलप्रसाद गुरुङले वडालाई बालमैत्री क्षेत्र घोषणा गर्न गाउँपालिका र विद्यालयले अभियान सञ्चालन गर्दै आएको बताउनुभयो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालका पब्लिक इन्गेजमेन्ट स्पेसियालिष्ट सुनिल हाकाजु श्रेष्ठले आजका बालबालिका भोलिको साझेदार भएकाले उनीहरुको बृद्धि विकास र आधारभूत आवश्यकताको क्षेत्रका काममा आफूहरूको सहयोग रहने बताउनुभयो । कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका शिक्षा विशेषज्ञ विश्व विनोद घिमिरेले बालबालिका स्वभावैले जिज्ञासु हुने हुँदा उनीहरूलाई घर, समाज विद्यालय सबै स्थानमा बालमैत्री वातावरण हुनुपर्नेमा जोड दिनु भयो ।

उक्त कार्यक्रममा आरसीडीसीका तालिम संयोजक रेणुका शाही ठकुरी, जनज्योति माध्यमीक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर विक, वडासदस्य द्वय यामबहादुर गुरुङ, कालबहादुर गुरुङ, महिला सदस्यद्वय भीमकुमारी गुरुङ, विष्णु विक, वडा नं. १ का वडा सचिव भगवान ओझालगायतको सहभागिता थियो । उक्त बाल भेलामा वडा नं. १ अन्तर्गत जनज्योति मावि बाग्लुङपानी, सरस्वती प्रावि कपुरगाउँ र सुरेन्द्र प्रा. वि. नजरेका बालबालिकाहरू एकसय भन्दा बढीले भाग लिएका थिए ।

सो अवसरमा कार्यक्रम तथा वडास्तरीय बाल क्लब संजालका अध्यक्ष सुनिलले वडालाई बाल मैत्री वडा घोषणा गर्न सबै वडाबासीहरूको सहयोगमा आफूहरु लागिपरिरहेको बताउनु भयो ।