एम्बुलेन्स पाएपछि हर्षोल्लास, विपन्नलाई निशुल्क सेवा दिईने

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
साँझ विहान बलेफी बजारमै रहनेगरि एम्बुलेन्स पाउँदा बलेफी बजारवासीमा खुसीयाली छाएको छ । राजमार्गमै अवस्थित रहेर पनि एम्बुलेन्स सेवाको सहज पहुँच नभएको बलेफीमा एम्बुलेन्स ल्याइदिएपछि आइतबार प्रतिनीधि सभा सांसद अग्निप्रसाद सापकोटा, नेता माधव सापकोटा लगायत एम्बुलेन्स ल्याउनमा पहल गर्नेहरुलाई बलेफीवासीले भव्य स्वागत गरेका छन् ।

एम्बुलेन्स पाएपछि बलेफीवासीले सांसद सापकोटालाई भव्य सम्मान मात्र गरेनन्, नाचगानसहित हर्षोल्लास मनाए बलेफीवासीले । ‘राजमार्गमै रहेर पनि बलेफीमा एम्बुलेन्सको सहज पहुँच थिएन, वर्षौपछिको सपना आज पुरा भएको छ’, एम्बुलेन्स पाएपछि कपिलेश्वर एम्बुलेन्स सेवा समितिका अध्यक्ष भक्तलाल श्रेष्ठले भने ।

बिरामी पर्दा ट्रक र ट्रीपरहरुमा अस्पताल लैजानुपर्ने दिन अन्त्य भएको बलेफी गाउँपालिका–५ का वडाध्यक्ष विकास श्रेष्ठले खुसी ब्यक्त गरे । ‘वर्षौदेखि हामीले एम्बुलेन्सका लागि पहल गर्दै आर्यौ, आज हाम्रो सपना पुरा भएको छ’, उनले भने । बलेफीमा एम्बुलेन्स उद्घाटन हुँदैछ भन्ने पत्तो पाएपछि माथिल्लो विन्जेल, डाँडागाउँ, गुर्दुम, काभ्रे, नौविसे लगायतका गाउँबाट स्थानीयवासी बलेफी झरेका थिए ।

बलेफी गाउँपालिकाको ४ र ५ नम्बर वडालाई केन्द्रित गरेर एम्बुलेन्स उपलव्ध गराइएपछि माथिल्लो भेगका स्थानीयहरु खुसीयाली साट्न बलेफी झरेका हुन् । एम्बुलेन्स सेवा समितिका उपाध्यक्ष नारायण पराजुलीले एम्बुलेन्स उद्घाटनमा आएका सांसद सापकोटा, गाउँपालिका अध्यक्ष केदार क्षत्रीलाई सडक स्तरोन्नतीमा ध्यान दिन आग्रह गरेका थिए । ‘सडक स्तरोन्नती भए बलेफीबाट आधा घण्टामै गाउँ गाउँमा एम्बुलेन्स पुग्नसक्छ’, उनले भने । आइतबार एम्बुलेन्सको औपचारीक उद्घाटन गर्दै प्रतिनीधिसभा सांसद अग्निप्रसाद सापकोटाले अब समयमै उपचार नपाएर अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था अन्त्य भएको बताए ।

समयमै उपचार नपाएका कारण सर्वसाधारणले अकालमै मर्नुपरेको विगत स्मरण गर्दै सापकोटाले स्वास्थ्यमा बलेफी भेगको पहुँच बढिरहेको बताए । ‘बलेफीमै एम्बुलेन्स छ, अब तपाइँहरुको स्वास्थ्य सेवामा पहुँच बढिसक्यो’, उनले भने । एम्बुलेन्स प्राप्त गर्नुमात्र ठूलो कुरा नभइ यसको उचित व्यवस्थापन गर्नुपर्नेमा सांसद सापकोटाले सुझाए । ‘एम्बुलेन्सको राम्रो व्यवस्थापन भयो भने चिनीयाँहरु खुसी हुनेछन् र अन्यखालका सहयोग गर्नेछन्’, सापकोटाले भने ।

विपन्नलाई निशुल्क सेवा
बलेफी बजारमा एम्बुलेन्स उद्घाटन भएसँगै बलेफी गाउँपालिकाले एम्बुलेन्स व्वस्थापनमा सघाउने गाउँपालिका अध्यक्ष केदार क्षत्रीले बताए । दुर्गम क्षेत्रका सुत्केरी महिलाहरुका लागि केन्द्र सरकारले हेलिकप्टरको व्यवस्था मिलाए जसरी गाउँपाकिलकाभित्रका विपन्न जनताका लागि गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बताए । ‘कोहीकसैले एम्बुलेन्सको भाडा तिर्नै सक्दैनन् भने गाउँपालिकाले भाडा तिर्नेछ उनीहरुलाई समयमै अस्पताल पु¥याउनेछ’, अध्यक्ष क्षत्रीले भने ।