व्यापारी अपहरण प्रकरणः दुई भारतीय अपहरणकारी सार्वजनिक

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
व्यापारी सुरेश केडिया अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेको दु्ई भारतीय अभियुक्तलाई पर्सा प्रहरीले शनिबार सार्वजनिक गरिएको छ ।

भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगर परिषद वडा नं. १७ बस्ने ३५ वर्षीय बब्लु पासवान र राजहर्नाही ग्रामपञ्चायत वडा नं. ३ बस्ने २५ बस्ने नन्की भन्ने विजय महतो (कुशवाहा)लाई शनिबार पत्रकार सम्मेलन गरी पर्सा प्रहरीले सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रेवती ढकालले बब्लु मुख्य योजनाकार र विजय अपहरणपछि गाडी चलाएर जाने व्यक्ति रहेको बताए । गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई २४ गते बिहान १ बजेको समयमा पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई छिपहरमाई गाउँपालिका वडा नं ५ भिश्वा क्षेत्रबाट पक्राउ गरिएको दावी प्रहरीले गरेको छ ।

०७३ जेठ १३ गते बाराको महागढीमाई नगरपालिका वडा नं. १ स्थित पसाहा पुलबाट अपरहणमा परेका केडियालाई जेठ १६ गते भारतीय प्रहरीको सहयोगमा अपहरणमुक्त गरिएको प्रहरीको भनाइ छ । तर स्रोतकाअनुसार केडिया परिवारका सदस्यले १० करोड रुपैयाँ फिरौती हुण्डी मार्फत बुझाएपछि अपहरणकारी आफैंले केडियालाई छोडेका थिए ।

केडिया अपहरण मुक्त भइसकेपछि अपहरणकारीहरु विरुद्ध सुरेश केडियाको छोरा शौरभले जिल्ला प्रहरी कार्यालय बारामा अपहरण तथा शरीर बन्धक, हातहतियार तथा खरखजाना, संगठित अपराध मुद्दामा जाहेरी दिएका थिए । बब्लु पासवानले भने बब्लु दुवे नै मुख्य योजनाकार रहेको र आफूहरुसँग भएको सहमतिअनुसार एक करोड नदिएपछि उनको हत्या गरेको दावी गरेका छन् । अपहरणलाई सफल बनाउन नेपालका प्रशासनिक निकायलाई ३० लाख रुपैयाँ छुट्याएको जानकारी आफूले पाएको उनको भनाइ छ । तर कसकसलाई दिइएको हो भनेर आफूलाई कुनै जानकारी नभएको उनले बताए ।

प्रहरीले उनीहरु नै नेपाल आएर अपरहण गरेर लगेको दावी गरे पनि बब्लु पासवानले भने भारतीय सीमासम्म मात्रै आफूहरु आएको बताए । चञ्चला पाण्डे, वीरेन्द्र यादव, जियालाल यादवलगायत पाँचजना यसअघि नै पक्राउ परेका छन् । उनीहरुले पनि बब्लुको योजनामा चञ्चलाले केडियाको अपहरण गरेर भारत र्पुयाएर बन्धक बनाएको खुलेको प्रहरी स्रोतले जनाएको छ ।

भारतको सिसुवाथान पूर्वी चम्पारण मोतिहारी जिल्ला घर भएका बल्लु भनिने मिथिलेश दुवेलाई बेतिया सिभिल कोर्टमा पेस गर्न लैजानेक्रममा प्रहरी घेराभित्रै गोली हानी हत्या गरिएको थियो । बक्सार कारागारमा विभिन्न मुद्दामा सजाय काटिरहेका उनको २०७४ बैशाखमा हत्या भयो । उनलाई पाँच वटा गोली लागेको थियो ।भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीको सुरक्षा घेरामा रहेका बब्लुलाई अदालत परिसरमै तीन जनाको संख्यामा आएका हतियारधारीले गोली हानेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । बब्लु दुवे भारतका विभिन्न ठाउँमा आपराधिक क्रियाकलाप गरी नेपालमा समेत लुक्ने गरेका थिए । नेपाल प्रहरीका तत्कालीन एसएसपी र हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विशेष सुराकीको आधारमा १५ जेठ, २०७० मा सीतापाइलाको गेस्ट हाउसबाट उनलाई पक्राउ गरेका थिए । नेपालमा अपराधिक क्रियाकलाप गरेको कुनै प्रमाण नभेटिएपछि २१ जेठ, २०७० माभारतीय प्रहरीको जिम्मा लगाएको थियो ।