कारागारमा क्षमता भन्दा बढीकैदी

0
Shares

विमल विष्ट, डोटी
राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो जिल्ला कारागार डोटीमा क्षमता भन्दा बढी कैदीबन्दि हुँदा समस्या भएको छ । पच्चीस जना मात्र कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल पुरुष कैदीबन्दी ४३ र महिला कैदीबन्दी चार गरी हाल कूल ४७ जना रहेका छन् ।

क्षमता भन्दा बढी कैदीबन्दि भएका कारण उनिहरुलाई सुत्न,खाना पकाउन तथा सौचालय जानका समेत समेत समस्या भएको कारागार प्रशासन प्रमुख राजन केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्षमता भन्दा बढी केदीबन्दि राखिएकाले समस्या भएको छ,कैदीलाई समस्या भएको कुरो केन्द्रमा खवर गरेका छौँ केही पहल हुन्छ की ।’

कैदीबन्दी बढी भएका कारण उनिहरुलाइ खानेपानी प्रयोग गर्न र शौचालयमा जानका लागि समेत पालो पखर्नुपर्ने अवस्था रहेको कर्तव्य ज्यान मुद्दामा सजाया भुक्तान गरीरहेका दिपेन्द्र जेठाराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जेलमा निकै कष्ट सहेर बाँच्नुपरेको छ । सरकारले सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गुर्नुपर्छ ।’ यतिमात्र नभइ राणाकालमा निर्माण गरिएको उक्त कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दीलाइ झनै समस्या भएको बताइएको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले कारागारलाइ चाडै मर्मत गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कारागार मर्मतकालागि केन्द्रमा बजेट माग गरेका छौँ,बजेट आउने बित्तिक्कै मर्मत हुन्छ ।’ त्यस्तै कारागारका छानामा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको बताइएको छ । पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीको गुनासो छ । आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मत सम्भारको कार्य हुन नसकेको कारागार प्रशासनले बताउदै आएको छ ।