गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ

0
Shares

नेपाल समाचारपत्र, पोखरा ।
गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ परेका छन् । कलेजका सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै उजुरी परेपछि जिप्रकाले बुधबार कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ तोकेको छ । तर, कलेजले विद्यार्थीबाट थप १५ लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ । यो रकम व्यक्तिगत खातामा जम्मा गराउने गरिएको र रकम तिरेको भौचर समेत नदिइएको विद्यार्थीहरुको गुनासो छ ।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी ३४ दिनदेखि आन्दोलनमा छन् । आन्दोलनकै कारण माघ २२ गतेदेखि ओपिडीमा र कक्षाकोठामा ताला लागेको छ ।