घूससहित दुई जना पक्राउ, एक जनाविरुद्ध आरोप–पत्र दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनसन्धान आयोगले दुई जनालाई घूससहित पक्राउ गरेको छ भने एक जनाविरुद्ध आरोप–पत्र दायर गरेको छ ।

आयोगले नेपालगंज भन्सार कार्यालय, बाँकेका नायव सुब्बा लक्ष्मणबहादुर चन्द र खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख विनोदकुमार श्रीवास्तवलाई घूसहित पक्राउ गरेको हो भने कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सव इन्जिनियर ह्रदयराज बजगाईविरुद्ध आरोप–पत्र दायर गरेको छ ।

विशेष सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटि गएको टोलीले नायब सुब्बा चन्दलाई बाउन्न हजार घूस लिइसकेको अवस्थामा कार्यकक्षबाटै मंगलबार पक्राउ गरेको हो ।

उनले प्रज्ञापन पत्र बनाईदिने तथा भन्सार जाँचपासमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग रकम माग गरेका थिए ।
सो आयोगको टोलीले कार्यालय प्रमुख श्रीवास्तवलाई पनि पैंतीस हजार घुस रकम लिइसकेको अवस्थामा नेपालगञ्ज नगरपालिका–८ स्थित रानीतलाउ सब्जीमण्डी सडकबाट मंगलबार पक्राउ गरेको हो । उनले सेवाग्राहीसंग खाद्य गुणस्तर प्रमाणीकरण गरिदिने भन्दै रकम मागेका थिए ।

यसैगरि सव इन्जिनियर बजगाई आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले साठी हजार घूससहित पक्राउ गरेको हो । उनलाई बेलौरी नगरपालिका अन्तरगत स्लेभ कल्भर्ट निर्माण कार्य सम्पन्न भई सकेको ठेक्काको अन्तिम रनिङ बिल फरक गराईदिने भन्दै घूस रकम मागेका थिए ।

बजगाईले भ्रष्टाचार कसुर गरेको देखिएकाले उनलाई साठी हजार जरिवाना र कैद सजायको माग गरि बुधबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।