पुलिसविरुद्ध थ्रिस्टार ३ गोलले विजयी


भद्रपुर ।
बिभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै थ्रि स्टारले झापासँग सेमिफाइनलमा भेट पक्का गरेको छ ।
टाइब्रेकरमा भाग्यमानी सावित हुँदै थ्रि स्टार क्लब मगमग झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

सेमीफाइनलमा थ्रि स्टारले मगमग झापा ११ सँग प्रतिष्पर्धा गर्नेछ । निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा थ्रि स्टार क्लबका बिजय धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीले गोल गरेका थिए भने बिक्रम लामाको प्रहार पुलीसका गोलकिपर शत्रुघन चौधरीले बचाउ गरेका थिए ।

पुलीसका अजित भण्डारी र भरत शाहको प्रहार थ्रि स्टारका गोलरक्षक एलेन न्यौपानेले बचाएका थिए । रवि पासवानको प्रहार आकाशिएको थियो । पुलीसको तर्फबाट प्रहार भएका कुनै गोलले जाली नचुमेपछि तीन गोल गर्ने थ्रि स्टार बिजयी भएको हो । यो प्रतियोगितामा पहिलो पटक निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

खेलको म्यान अफ द म्याच पुलीसका गोलरक्षक एलेन न्यौपाने भए । उनले नगद १५ हजार रुपैंयाँ पाए । बिहीबारको खेल क्यामरुनको दाउफिन्स फुटबल क्लब क्यामरुन र लाली रुपन्देही ११ एफसीबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बुधबारको खेलमा टीकट काटेर खेल हेर्न आएका गरामनीका दिपक पौडेलले २० इन्चको एलइडी टेलिभिजन पाएका थिए । कार्यक्रममा क्यान्सर रोगबाट पीडित झापा जिल्ला फुटबल संघका पूर्व सचिव तिलक गुरुङलाई आयोजकका तर्फबाट २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।