बाँदरको हैरानीले रुख काट्न बाध्य स्थानिय तह

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
खेतीयोग्य जमिन र बस्तीमा समेत बाँदर लगायतको बन्य जन्तुको अतिक्रमण बढेको भन्दै पर्वतका स्थानि तहले बस्ती नजिकको जंगल फडाँनी गर्ने अभियान चलाएका छन ।

पर्वतको कुश्मा नगरपालिका , फलेबास नगरपालिका र मोदी गाउँपालिकाले ब्यापक रुपमा रुख फडानी गरेका छन । स्थानिय तहले ब्यापक जंगल र रुख फडानी गर्दा पर्याबरणमा पर्ने असरका बारेमा ध्यान नदिएको र समन्वय समेत नभएको भन्दै सरोकारवालाले बिरोध गरेका छन ।

कुस्मा नगरपालिकाले कार्यपालिकाको बैठकबाटै निर्णय गरेर निजी आवादीका रुख काट्न थालेको छ । कुस्माले तीन महिना पहिले देखि नै रुख फडानी गर्न थालेको छ । बस्तीबाट २० मिटर वरपरका रुख कटान भैरहेको छ । कुस्माको वडा नं ११ कटुवाचौपारीबाट शुरु भएको अभियान अहिले ११, १२, १३ र १४ वडामा सञचालन भैरहेको छ । बाँदर र जंगली जनावरको प्रकोप बढेपछि कृषकको माग अनुसार नै रुख काट्ने अभियान चलाइएको बताएका छन । ‘बाँदरले खेतीपाती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि रुख काट्ने अभियान चलाइएको छ’ वडा नं १३ का अध्यक्ष जंगबहादुर क्षेत्रीले भने‘रुख काट्ने निर्णयबाट कृषकहरुमा खुसीयाली आएको छ’

बाँदर नआउने, चितुवा लगायतका जंगली जनावारको आक्रमणको डर समेत कम हुने बिश्वास कृषकमा छ । बर्षभरी लगाएको बाली बाँदरले खाईदिदा समस्या भएको थियो । बसाईसराईका कारण समेत धेरै खेती योग्य जमिन रुख बढेर जंगलमा परिणत भएका छन । यसले गर्दा रुख काट्ने अभियान चलाइएको वडा अध्यक्ष क्षेत्रीले भने । एउटा वडाले रुख कटानका लागि मात्रै लाखौ बजेट समेत खर्च गरिसकेका छन । एउटा बस्तीमा मात्रै रुख काट्दा लाखौ खर्च भैसकेको वडा अध्यक्ष क्षेत्रीले भने । वडाभरका सबै बस्तीमा रुख काट्दा एक बर्षको वडाको बजेट नै सकिने हो कि भन्ने चिन्ता लागेको भनाई छ ।

कुस्मा नगरपालिकाले मात्रै होइन फलेवासका विभिन्न वडाका बस्ती र खेतीयोग्य जमिनका झाडी र अनावश्यक रुख फँडानी सुरु गरिएको छ  । घरवरिपरिका रुखले जमिनको उत्पादन घटाउने समस्या बढदो छ । हावाहुरी चल्दा बस्ती क्षेत्रमा रुख ढलेर दुर्घटना हुने जोखिम पनि छन्। उब्जाउ खेत परिपरिका रुखले बाली नसप्रिने समस्याका कारण पनि अनावश्यक रुख काटिएको फलेबास ३ का किसान काशीराम पराजुलीले बताए । बारीका कान्लाका रूखले तप्केनी भएर उत्पादन घट्यो,’ उनले भने, ‘वडा कार्यालयको सिफारिस लिएर खेतबारी वरिपरिका रुख काटेर छर्लङ्ग पारियो ।’ कुस्मा नगरपालिका मोदी गाउँपालिकामा घर नजिकका डालेघाँसका बोट पनि काटिएपनि फलेबासमा भने छेउछाउमा रहेका डालेघाँसका बिरुवाहरु भने जोगाइएको छ ।

बस्ती नजिकका रुख काट्ने क्रममा वन कार्यालय संग भने सरोकार नै राखिएको छैन । स्थानिय तहले निर्णय गरेर रुख काटेपनि सार्वजनिक जंगलमा काट्नेमा वन कार्यालयले काबार्ही गर्ने संकेत समेत दिएको छ । यसरी काटिएका रुख ओसारप्रसार गर्दा पनि वनको अनुमति नलिएका कारण पक्राउ पर्न सक्ने देखिएको छ । ‘ विना पुर्जी काटिएका रुख घरमा नै प्रयोग गर्दा समस्या हुँदैन’ डिभीजन वन प्रमुख दधिलाल कँडेलले भने ‘बिक्री बितरण गर्दा काठ समात्नु पर्ने हुन्छ’ रुख फडानी गरेर बाँदर नै हट्ने संभावना कम रहेको र बाँदर बढेमा स्थानिय तहले कसरी जिम्बेवारी लिन्छन भन्ने समस्या हुने कँडेलको भनाई छ ।