स्वास्थ्यकर्मी आँफै जुटे सरसफाई अभियानमा

0
Shares

धनवीर दाहाल, रुकुम ।
अस्पतालको बाहिरी वातावरण दुर्गन्धीत बन्न थालेपछि अस्पतालका स्वास्थ्यकर्मी आफै सरसफाई अभियानमा जुटेका छन् । रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा हरेक शुक्रबार स्वास्थ्यकर्मीले अस्पतालको बाहिरी क्षेत्र सरसफाई गर्ने तालिका बनाएका हुन् ।

अस्पतालभित्र दैनिक सरसफाई भएपनि बाहिरी वातावरणको सरसफाई फोहर हुन नदिन सामुहिक रुपमा सरसफाई गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुन्दर ओलीले बताउनुभयो । पछिल्लो पटक यसलाई व्यवस्थित गर्दै गएको उहाँको भनाई छ ।

बाहिरी वातावरण स्वच्छ नभएमा अस्पताल आउने विरामीबाट गुनासो आउनुका साथै स्वस्थ व्यक्ति विरामी हुने भन्दै सरसफाईलाई नियमितता दिइएको हो । कार्यालय सहयोगीले मात्र सबै सफाई गर्न नसक्ने भन्दै सबै स्वास्थ्यकर्मीहरुको सहभागितामा सरसफाई भइरहेको छ ।

पछिल्लो समयमा अस्पतालको समग्र स्वास्थ्य सेवामा सुधार हुँदै गएको बताइएको छ । केही पूराना भवनहरुको मर्मत सम्भार गरेर व्यवस्थित बनाउने योजना रहेको व्यवस्थापन समितिका अध्यक्ष ओलीले बताउनुभयो । अस्पतालमा जनशक्ति थप गर्दै, भौतिक पूर्वाधारको समेत विकास आवश्यक भएकोले आफूहरु त्यसतर्फ अग्रसर भएको उहाँको भनाई छ ।