चट्ट रुमाल क्या मालुम सम्मानसँगै सार्वजनिक

0
Shares

सुपरहिट फिल्म आप्mनो मान्छेको लोकप्रिय गीत चट्ट रुमाल क्या मालुमका स्रष्टा तथा कलाकारलाई मंगलबार राजधानीमा आयोजित एक समारोहमा सम्मान गर्दै रिएरेन्जका साथ निर्माणाधीन फिल्म यात्रा ः अ म्युजिकल भ्लगमा समावेश गरेर सार्वजनिक गरिएको छ।

समारोहमा गीतका संगीतकार शम्भुजित बासकोटा, नृत्य निर्देशक राजु शाह, स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठ, निरुता सिंहलगायतलाई सम्मान गरिएको हो। श्रीकृष्णको सम्मान उनकी पत्नी तथा नायिका श्वेता खड्काले ग्रहण गरिन् भने निरुता स्वास्थ्यका कारण उपस्थित हुन सकिनन्। गीतका गायिका साधना सरगम, रचनाकार बाबुराम दाहाललाई सम्मान उपलब्ध गराइने तथा फिल्म निर्देशक स्व. शिव रेग्मीको सम्मान उनकी छोरी भावना रेग्मीलाई प्रदान गर्ने निर्माता केशव भट्टराईले बताए।

कार्यक्रममा सहभागी शम्भुजित, श्वेता र राजुले भने सम्मानप्रति खुसी व्यक्त गरे। रिएरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राईले स्वर दिएका छन्। यसलाई राजन इशानले रिएरेन्ज गरेका हुन्। गीतको भिडियोमा प्रवीन सिंहले कोरियोग्राफी गरेका छन्। गीतको भिडियोमा राइजिङ स्टार सलिनमान बानियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा वज्राचार्य र विशाल सापकोटालगायतलाई फिचरिङ गरिएको छ।

फिल्ममा सुहाउँदो स्थान भएकाले यो गीतलाई राखिएको निर्माता केशव भट्टराईले बताए। यो लोकप्रिय गीतलाई फिल्मले नयाँ पुस्तामा लाने विश्वास सलिनमानको छ। फिल्म सम्राट शाक्यले निर्देशन गरेका छन्। फिल्ममा जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायत अभिनय गरेका छन्। फिल्ममा शम्भुजित बासकोटा, प्रतीक पौडेल र कोविद वज्रको संगीत, प्रवीन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, सञ्जय लामाको छायांकन र बनिष शाहको सम्पादन रहेको छ।