सडक दुर्घटना हुनुमा चालक दोषीेः मन्त्री चौधरी

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर पांचका भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले सडक दुर्घटनाको प्रमुख दोषी चालकहरुलाई देखाउनु भएको छ । चालकको कमजोरीबाहेक अन्य विभिन्न कारणले दुर्घटना हुने गरेपनि दुर्घटनाको प्रमुख हिस्सेदार चालक नै भएको मन्त्री चौधरीको तर्क छ ।
सवारी चालकहरु सचेत भए मात्रै आधा दुर्घटना न्यूनीकरण हुने मन्त्री चौधरीको दावी छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ५ नम्बर प्रदेश कमिटिले मंगलबार रुपन्देहीको बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै जुनसुकै कारणले सडक दुर्घटना भएपनि त्यसको प्रमुख जिम्मेवार चालक हुनुपर्ने उहाँको कथन थियोे ।

दुर्घघटना न्यूनीकरणका लागि सबै सरोकारवाला सचेत हुनुपर्ने बताउंदै मन्त्री चौचरीले भन्नुभयो – दुर्घटनाको बढी जवाफदेही चालक नै हुन ।
प्रदेश नम्बर पांचमा सबै भन्दा बढी दुर्घटना भएको मन्त्रालयको तथ्याकंले देखाएको उल्लेख गर्दै त्यसमा पनि बढी दुर्घटनाका घटना रुपन्देही र दाङमा घट्नु दुःखको कुरो भएको बताउनुभयो ।

उहांले प्रदेशमा भएका सबै सडकहरुलाई कालोपत्रे गर्नका लागि वजेटको अभाव रहेको पनि बताउनुभयो ।
प्रदेशको २८ अर्व वजेटमध्ये ४७ प्रतिशत बजेट भौतिक मन्त्रालयमा भएको र अन्य बजेट सबै ठाउंमा बाड्नु पर्ने हुंदा सडक निर्माणका लागि वजेट अभाव भएको उहांको भनाई छ ।
मन्त्री चौधरीले प्रदेश नम्बर पांचमा अहिलेसम्म ८ सय किलो मिटर सडक कालोपत्रे भएको जानकारी गराउंदै आगामी पांच वर्षभित्र २६ सय किलो मिटर सडक कालोपत्रे गरिने बताउनुभयो । प्रदेश पांचका १२ जिल्लामा अहिले ११ हजार किलो मिटर सडक रहेको र आगमी पांच वर्ष भित्र बढाएर २२ हजार किलो मिटर सडक बनाउने मन्त्री चौधरीले प्रतिवद्वता जनाउनुभयो ।

यातायात सम्बन्धी ऐन कानुन बनाउनका लागि मस्यौदा बनाउने काम भैरहेको र छिट्टै यातायात ऐन बनाएर सडकलाई व्यवस्थित गरिने मन्त्री चौधरीले बताउनुभयो ।

सिद्वार्थ नगरपालिकाकी उपमेयर उमा काफ्लेले दुर्घटना न्यूनीकरणका लागि राज्यले नीति बनाउनु पर्ने बताउनुभयो ।
५ नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक गंगाबहादुर सारुले प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही र दाङमा सबै भन्दा बढी दुर्घटना भएकोे तथ्याकंले देखाएको जानकारी गराउनुभयो ।

दुर्घटना न्यूनीकरणका लागि सबैको भूमिका अतुलनीय हुने भएकाले यस विषयमा सबैलाई गम्भीर हुन प्रहरी निरिक्षक सारुले आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्ने सरोकारवालाले दुर्घटना न्यूनीकरणका लागि सबै सरोकारवालावीच सहकार्य र समन्वय हुन आवश्यक रहेको बताएका थिए ।
उनीहरुले दुर्घटना न्यूनीकरणका लागि विद्यालयहरुमा ट्राफिक शिक्षा उपलब्ध गराउन सरकारसंग माग गरेका छन् । चालक तथा मजदुरहरुलाई मात्र दुर्घटनाको दोषी नदेखाउन आग्रह गर्दै दुर्घटना न्यूनीकरण गर्ने गरी आवश्यक नीति ल्याउन र उचित प्रकारका सडकहरु बनाउनु पर्नेमा जोड दिएका छन ।