भोजको खर्च सामाजिक संस्थालाई

0
Shares

काठमाडौँ ।
काठमाडौं क्षेत्र नं ३ (क) का प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा दम्पतीले आफ्नो पुत्रको अन्नप्राशन (पास्नी) गर्दा लाग्ने खर्च नयाँ जीवन नेपाल सामाजिक संस्थालाई दान गरेको छ ।

प्रदेशसभा सदस्य लामा र श्रीमती अनु प्रसाईंले रु चार लाख उक्त सामाजिक संस्थालाई प्रदान गर्नुभएको हो । उहाँहरुले आफ्नो छोराको अन्नप्राशन भोज नगरी उक्त रकम बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि काम गर्दै आएको सो संस्थालाई हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले पनि एक महीनाको तलब सो संस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । गोकर्णेश्वर नगरपालिका–६ का अध्यक्ष रमेश अर्याल र ८ का वडाध्यक्ष मनोज ढुङ्गानाले पनि संस्थालाई सहयोग गर्ने वचन दिनुभएको संस्थाले जनाएको छ । लायन्स क्लबका पूर्वगभर्नर कुमारराज सुवेदीले पनि संस्थालाई ४३ इञ्चको रङ्गीन टेलिभिजन र संस्थालाई आवश्यक भौतिक सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस