भाइरल ज्वरोले सिङ्गो गाउँ नै प्रभावित

0
Shares

मार्तडी ।
बूढीनन्दा नगरपालिका–३ साविकको कोल्टी गाविस नुरी कालगोठीमा भाइरल ज्वरोको प्रकोप गाउँभर फैलिएको छ ।

लगातारको वर्षा र पटक÷पटकको हिमपातका कारण दैनिकरुपमा चिसो बढ्न थालेपछि विगत एक सातादेखि पूरै गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । भाइरल ज्वरोबाट गाउँका १२० भन्दा बढी बिरामी परेको बूढीनन्दा नगरपालिका–३ का वडाध्यक्ष रामबहादुर बोहराले जानकारी दिनुभयो ।

“टाउको दुख्ने, ज्वरोे आउने, खोकी लाग्ने, खान मन नलाग्नेलगायतका समस्याबाट गाउँका सबै प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “भाइरल ज्वरोेबाट थला पर्न थालेपछि गाउँका पशुचौपायालाई गोठमै राख्नुपर्ने अवस्था आएको छ ।”

उपचारका लागि बिरामीलाई करीब छ घण्टा पैदलयात्रा गरेर कोल्टी प्राथमिक उपचार केन्द्रसम्म पुग्नुपर्ने अवस्था रहेको छ । बिरामीलाई आवतजावत गर्न निकै कठिन भएकाले स्वास्थ्य संस्थामा गएर उपचार गराउन नसकेको र यसले गर्दा बिरामी थला पर्न थालेको दुखेसो उहाँको छ ।

पूरै गाउँका मानिस नै बिरामी भएपछि उनीहरुलाई स्वास्थ्य संस्थामा ल्याउन नसकेको वडाध्यक्ष बोहराले बताउनुभयो । प्राथमिक स्वास्थ केन्द्र कोल्टीका प्रमुख डाक्टर गणेश चौधरीले नुरीका स्थानीयवासीमा भाइरल ज्वरोको प्रकोप फैलिएको बारेमा आफूलाई जानकारी नआएको बताउनुभयो ।

भाइरल ज्वरोबाट सिङ्गो गाउँ नै बिरामी भएकाको खबर प्राप्त हुनासाथ स्वास्थ्यकर्मी टोलीलाई त्यसतर्फ पठाउने उहाँले बताउनुभयो । भाइरल ज्वरोको उपचारका लागि औषधिको व्यवस्थासहित आवश्यक जनशक्ति परिचालनका लागि नगरपालिकासँग समन्वय गरेर तत्काल स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाउने उहाँले बताउनुभयो ।
रासस