सरोज यादव, विराटनगर ।
विराटनगरका ठूला औद्योगिक घरानाको लगानी सेवामूलक क्षेत्रमा बढ्न थालेको छ । सरकारी नीति, मजदुर अभाव, विदेशी उत्पादनसँगको प्रतिस्पर्धामा ह्रासलगायतका कारण उद्योगीहरूले आफ्नो लगानीलाई सेवामूलक क्षेत्रमा लगाएका हुन् । विराटनगरका प्रतिष्ठित तीन ठूला औद्योगिक घरानाले मलमा लगानी गरेका छन् । विशाल गु्रप, देवेनरा गु्रप र हाइलाइफ ग्रुपको १ अर्ब रुपैयाँभन्दा बढीको संयुक्त लगानीमा सेन्ट्रल मल सञ्चालनमा आएको छ । मलभित्र अत्याधुनिक प्रविधिसहितको सेन्ट्रल मल्टिप्लेक्स प्रालि (सिनेमा हल) दुई महिनाअघि नै सञ्चालनमा आइसकेको छ । जहाँ तीनै औद्योगिक घरानाले ११ करोड रुपैयाँ लगानी गरेका छन् ।
साढे १५ कठ्ठा क्षेत्रफलमा १ लाख ३४ हजार स्क्वायरफिटमा फैलिएको मलमा हाल ३ सयभन्दा बढीले रोजगारी पाएका छन् । मलमा डिपार्टमेन्टल स्टोरसहित १ सय ४ वटा पसल छन् । ७० प्रतिशत पसल सञ्चालनमा आइसकेका छन् । वैशाखसम्ममा सबै पसल सञ्चालनमा आउने मलका सञ्चालक प्रकाश मुन्दडाले बताए । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । ३० हजार स्क्वायरफिटको तीनवटा तलामा डिपार्टमेन्टल स्टोर छ ।
२५० जना क्षमताको फुडकोर्ट, ६० वटा गाडी र २५० मोटरसाइकल र १५० वटा साइकल अट्ने अन्डरग्राउण्ड पार्किङको सुविधासमेत मलमा छ । जापानीजसहित ५० वटाभन्दा बढी विदेशी चर्चित ब्राण्डका उत्पादन पनि मलमा उपलब्ध छ । १५ वटा खेल भएका गेमिङ जोन, ब्यूटीपार्लर, शैलुन, एटीएम, विभिन्न खानाका परिकार, सिनेमा हललगायत छन् । “यहाँ नूनदेखि सुनसम्म उपलब्ध हुनेछ,” मुन्दडाले भने, “यसले प्रदेश–१ का उपभोक्तालाई एउटै छानामुनि सामान खरिद गर्न सहज हुनेछ ।” वैशाखदेखि रुफटप रेष्टरेन्टसमेत सञ्चालनमा आउनेछ ।
विराटनगरमा उच्च गुणस्तरीय सामान नपाउँदा यसअघि भारतको सिलिगुढीसम्म उपभोक्ताहरू पुग्ने गरेका थिए । अब भारत जाने ग्राहकलाई सेन्ट्रल मलले रोक्ने उनको दाबी छ । भारतीय सीमावर्ती ग्राहकलाई समेत मलले आकर्षित गर्ने अर्का सञ्चालक विकाश चौधरी बताउँछन् । विराटनगरसँग सीमा जोडिएको भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताकै कारण दैनिक २ करोडभन्दा बढीको कारोबार हुने गरेको छ । तर, जोगबनी जाने उपभोक्तालाई समेत मलले रोक्ने सञ्चालक चौधरी दाबी गर्छन् ।
मलभित्र १६ हजार २ सय ३५ वर्गफिटमा निर्माण गरिएको मल्टिप्लेक्समा आरामदायी सिटसहितका २ वटा अडी सिनेमा हल छन् । मल्टिप्लेक्समा टु डी र थ्री डी स्क्रीनसहित डल्बी डिजिटलसहितको साउण्ड सिस्टम जडान गरिएको छ । सेन्ट्रल मल्टिप्लेक्समा आउने दर्शकले अन्तर्राष्ट्रियस्तरको सिनेमा हलको आनन्द लिनसक्ने उनको भनाइ छ । एकैपटकमा ५ सय दर्शकले सिनेमा हेर्न सक्ने गरी निर्माण गरिएको मल्टिप्लेक्स परिसरमा अन्डरग्राउण्ड पार्किङका साथै स्न्याक्स काउण्टरसमेत राखिएको छ ।
मलको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । उनले सानो सोच, विचार, मन र आँटले मुलुकको समृद्धि नहुने बताए । उनले निजी क्षेत्रको फराकिलो सोच र आँटले मात्रै मुलुक समृद्ध हुने दाबी गरे । “लगानीको वातावरण बनाउन सरकार लागिपरेको छ,” उनले भने, “ढुक्क भएर लगानी गर्नुहोेस् ।” मुख्यमन्त्री राईले सेन्ट्रल मल प्रदेश–१ कै गौरवका रुपमा स्थापित भएको उल्लेख गरे । “यस्तै आँटिलो र आक्रामक लगानीले मात्रै प्रदेश समृद्धि हुन्छ,” राईले भने, “लगानी गर्न कोही हिचकिचाउनु पर्दैन ।”
पछिल्लो समय विराटनगरका औद्योगिक घरानाहरू सेवामूलक क्षेत्रमा आकर्षित भएका छन् । यसअघि विशाल ग्रुप र देवेनरा गु्रपले शिक्षा क्षेत्रमा लगानी गरिसकेको छ । सांसदसमेत रहेका मोती दुगडले पनि पछिल्लो समय होटललगायतका सेवामूलक क्षेत्रमा लगानी बढाएका छन् । दुगडकै १ अर्ब २० करोड लगानीमा ५ तारे होटलसहितको मलको भौतिक संरचनाको निर्माण धमाधम भइरहेको छ । ६ महिनाअघिबाट विराटनगरमा भाटभटेनी पनि सञ्चालनमा आइसकेको छ ।











प्रतिक्रिया