दासढुंगा नारायणी एकीकृत परियोजनाबारे छलफल

0
Shares

चितवन ।
जननेता मदन भण्डारीको दुर्घटना स्थल दासढुंगा र शव प्राप्त भएको स्थल गाँजीपुुरसँगै नारायणी नदीलाई एकीकृत रुपमा विकास गरिने भएको छ । मदन भण्डारीको दुर्घटनामा परी रहस्यमय मृत्यु भएको २५ वर्ष बित्नै लाग्दा दासढुंगा नारायणी एकीकृत विकास परियोजना बनाएर काम अगाडि बढाउन पहल थालिएको हो । मदन भण्डारी फाउण्डेशन चितवनको पहलमा तीन नम्बर प्रदेश सरकारले परियोजना अगाडि बढाएको छ । राष्ट्रिय योजना आयोग, तीन नम्बर प्रदेशको नीेति तथा योजना आयोग र फाउण्डेशन चितवनको संयुक्त टोलीले स्थलगत अनुगमन गरी योजना अगाडि बढाएको हो । टोलीले शनिबार स्थलगत अनुगमन गरेको थियो ।

यसै सन्दर्भमा फाउण्डेन र तीन नम्बर प्रदेशको नीति तथा योजना आयोगले आज यहाँ दासढुंगा नारायणी एकीकृत विकास परियोजना छलफल कार्यक्रम आयोजना ग¥यो । छलफलमा सहभागीहरुले लामो समयसम्म मदन भण्डारीलाई जेठ ३ गते मात्रै सम्झना गर्ने गरेको तर यी ठाउँहरुको विकास र संरक्षण हुन नसकेको गुनासो गरे । उनीहरुले दासढुंगा र गाँजीपुरको मात्रै नभएर नारायणी नदी र यस आसपासका पर्यटकीय क्षेत्रको बृहत गुरुयोजना निर्माण गरी विकास गर्न सुझाव दिए । उनीहरुले दासढुंगादेखि देवघाट, गाँजीपुर, गोलाघाट हुँदै त्रिवेणीसम्मको नदी तटीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।

तीन नम्बर र गण्डकी प्रदेशको सीमामा पर्ने त्रिशुली र नारायणी नदी तटीय क्षेत्रको विकास गर्दा स्थानीय निकायहरु र दुवै प्रदेशसँगै संघीय सरकारको समेत सहभागिता हुने गरी काम गर्नु पर्नेमा सहभागीहरुको सुझाव थियो । कार्यक्रममा प्रदेश नम्बर तीनका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले मदन भण्डारीको विचार जनतालाई खुशी र सुखी बनाउने भएकाले यो परियोजना सम्पन्न भए मात्रै मदनप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । ‘यो परियोजना सम्पन्न गर्न कतिपय ऐन नियम बाधक बन्न सक्छन्, उहाँले भन्नुभयो, त्यसलाई परिमार्जन गरेर भए पनि अघि बढ्नु पर्छ ।’ तीन तहका सरकारको समन्वयमा मात्रै यो काम सम्पन्न हुन सक्ने भएकाले सबै तहले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने मन्त्री लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यो परियोजना सम्पन्न गर्न सके राजनीतिक, धार्मिक, जल र पर्यावरणीय पर्यटक यहाँ भित्र्याउन सकिन्छ । हजारौंलाई रोजगारी दिन सकिन्छ ।’

प्रदेश नं. ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले यो परियोजना अगाडि बढिसकेको बताउनुभयो । उहाँले विगतका सरकारहरुले अघि बढाउन नसकेको परियोजना वर्तमान सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो । प्रदेशले नीति तथा कार्यक्रममा नै यो आयोजनालाई गौरवको आयोजनाका रुपमा समावेश गरिसकेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा प्रदेश सांसदहरु विजय सुवेदी, घनश्याम दाहाल र कृष्ण भूर्तेलले जननेता भण्डारीको विचारलाई संस्थागत गर्न पनि यो परियोजना सफल बनाउनु पर्ने बताए । उनीहरुले परियोजना सफल बनाउन सक्रियतापूर्वक लाग्ने बताउँदै सबै क्षेत्रको सहयोग भएमा छिटो सम्पन्न गर्न सकिने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यो परियोजनाको अधिकांश भाग भरतपुर महानगरपालिकाभित्र पर्ने भएकाले आफूले सक्रिय भूमिका खेल्ने बताउनुभयो । भरतपुर महानगरले मात्रै चाहेर राष्ट्रिय गौरवको यो आयोजना सम्भव नहुने भएकाले तीनै तहका सरकारको समन्वय आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा तीन नम्बर प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवाली, जिल्ला नेता यमबहादुर परियार, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवप्रसाद पौडेल, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष मित्रराज दवाडी, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी, पर्यटन विकास समिति चितवनका अध्यक्ष बद्री अधिकारीलगायतले सुझाव दिनुभएको थियो ।

मदन भण्डारी फाउण्डेशन चितवनले दासढुंगामा मदन भण्डारी अध्ययन प्रतिष्ठान, पार्क, संग्राहलय लगायतका पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । उक्त ठाउँमा दुई विघा जमिन यस अघि नै खरिद भईसकेको छ । यसैगरी नदी तटीय क्षेत्र देवघाटधाम, नारायणगढ नदी किनार, नगरवन, काभ्रेघाट, ज्ञानेश्वर ब्लक, गाँजीपुर, गोलाघाट लगायतका क्षेत्रको एकीकृत विकास गर्ने योजना बनाएको फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार नदीमा जल यातायात, जल क्रिडासँगै किनारमा पार्क र पर्यटकीय स्थलहरु विकास गर्ने लक्ष्य रहेको छ । तत्कालिन नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको बि.सं. २०५० साल जेठ ३ जेठ चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको थियो । आश्रितको दुर्घटनाग्रस्त जीपमा शव भेटिएको थियो भने दुर्घटनाको तीन दिनपछि गाँजीपुरमा भण्डारीको शव भेटिएको थियो । उक्त घटनापछि दासढुंंगा र गाँजीपुरलाई विकास गर्ने धेरै प्रयास भएपनि सफल हुन सकेको छैन ।