धुलिखेलमा ‘हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
धुलिखेल नगरपालिका, नेपाली सेनाको विष्णु दल गण, स्थानीय संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा ‘हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल’ मार्ग निर्माण गर्न सरोकारवालाहरु बीच छलफल शुरु भएको छ ।

सेनाको विष्णु दल गण धुलिखेलले नेपाल एकिकरणका बेला पृथ्वीनारयण शाहले प्रयोग गरेका स्थानहरुको पहिचान गरी छ वटा रुट कायम गरेको छ । धुलिखेलको साईक्लिङ्ग–हाईकिङ्ग रुटका लागि समेत नेपाली सेनाले धुलिखेल नगरपालिकाको सहयोगमा धुलिखेलको हजार सिंढी चोक हुँदै चौकोटसम्मको साढे ४ किमी दुरीमा ट्रेल मार्ग निर्माण गर्न लागेको छ । सोहि रुट मध्ये तीन किमी रुटको अवलोकन गरेको थियो ।

नेपाली सेनाको विष्णु दल गण धुलिखेलले युनिफिकेसन ट्रेलका लागि ६ वटा रुट पहिचान गरेको छ । १८०३ मा नगरकोट कब्जा गरेपछि १८१६ मा पलाञ्चोक कब्जा गर्न नगरकोट अनेकोट लामिडाँडा हुँदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएको बाटोलाई पहिलो मानिएको छ । विस १८१६ मा पलाञ्चोक माथि विजय प्राप्त गरे पश्चात भमरकोट काभ्रेकोट विजय गरी विसं १८१८ असार ३० गते चौकोट माथि विजय प्राप्त गर्दा भएको बाटोलाई दोश्रो मानिएको छ । १८१८ असार ३० मा चौकोट विजय पश्चात फस्कोट फुलबारीकोट बुचचाकोट मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटोलाई तेश्रो बाटोको पहिचान गरिएको छ ।

१८१९ असोज २ गते तेमालकोट विजय पश्चात चौकोट शारदाकोट गोरखनाथ हुँदै १८२० कार्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गलाई पाचौ रुट र १८२० कार्तिक १४ गते बनेपा, साँगा र नाला कब्जा गर्न धुलिखेलबाट गोसाईस्थान नालाकोट साँगा हुँदै बनेपा र पनौतीबाट नागीडाँडा साँगा हुँदै बनेपा आउन प्रयोग गरिएको मार्गलाई छैटौ रुटको रुपमा पहिचान गरिएको छ ।
धुलिखेल नगरपालिकामा निर्वाचित जनप्रतिनिधि एवं नगर प्रमुख अशोक ब्याञ्जुले पर्यटकिय नगरी धुलिखेलमा पर्यटकहरुको बसाई लम्याउन तथा वातावरणीय हिसावले धुलिखेलमा हाईकिङ्ग र साईक्लिङ्ग ट्रेल निर्माण गर्न उपयुक्त हुने ठहर गर्दै बढाएको योजनालाई काभ्रे जिल्ला साईक्लिङ्ग संघका अध्यक्ष मनिष यगोलले थप परिमार्जन सहित रुट तय गरेका थिए ।
नगरपालिकाको योजनामा विष्णु दल गण धुलिखेलले नेपालको एकिकरण अभियानमा महत्वपूर्ण मानिएका ऐतिहासिक स्थानहरुलाई काभ्रे युनिफिकेसन ट्रेलका रुपमा विकास गर्ने योजना बनायो । ‘धुलिखेल नगरपालिका र स्थानीय सघ संस्थाको सहयोगमा काभ्रे युनिफिकेसन ट्रेल निर्माण गरिनेछ’–गणपति कर्णेल सुबास खड्काले भने–‘प्रधानसेनापतिको योजना अनुसार देशभर नै एकिकरणको समयमा प्रयोग भएका स्थानहरुमा युनिफिकेसन ट्रेल निर्माण गरिनेछ ।’

‘धुलिखेलमा साईक्लिङ्ग–हाईकिङ्ग रुट निर्माण तथा नेपाल एकिकरणको समयमा प्रयोग भएको स्थान भमरकोटमा पृथ्वीनारउाण शाह र बलभद्र कुँवरको शालिक राखिनेछ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘नगरपालिकाले ९ लाख रुपैया विनियोजन गरी कार्य प्रारम्भ भएको छ ।’ बलभद्र कँुवरका जिजुबा रामकृष्ण कुँवरलाई १८७२ मा पृथ्वीनारायण शाहले भमरकोटमा विर्ता दिएका थिए ।
पलाञ्चोक भगवती स्थानमा १८१६ मा भएको लडाईमा बलभद्रका जिजुबाजेले सहयोग पु¥याएको भन्दै पृथ्वीनारयाण शाहले विर्ता दिएका थिए । बलभद्र कुँवर भमरकोटमै हुर्किएको इतिहास छ । उनको सम्झनामा नगरपालिकाले उक्त स्थानमा बलभद्र कुँवरको शालिक राख्न लागेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । पलाञ्चोक लडाईमा विजय प्राप्त गरेपछि बलभद्रका जिजुबा रामकृष्ण कुँवरलाई सेना नायक बनाईएको थियो । सेनाले इको र युनिफिकेसन ट्रेल निर्माण अभियान देशभर नै शुरु गरेको छ । प्रधानसेनापतिले कमाण्डो मार्ग निर्माण गर्न स्थानीय सरकारसँगको समन्वयमा कार्य प्रारम्भ गर्न देशभर नै निर्देशन दिएका थिए ।