घुम्ती शिविरमार्फत साढे छ सय नागरिकता वितरण

0
Shares

नेपाल समाचारपत्र, नुवाकोट
जिल्ला प्रसाशन कार्यलय नुवाकोटले ककनी गाउँपालिकाको कार्यलयमा गरेको दुई दिने एकिकृत घुम्ती शिवीरमा साढे ६ सय नयाँ नागरिकता वितरण गरेको छ ।

नुवाकोटका सहायक सिडीयो गोपाल अधिकारीले शुक्रबार र शनिबार गरिएको घुम्ती शिविरमा ठुलो संख्यामा नयाँ नागरिकता वितरण गरिएको बताए । जिल्लाको सदरमुकाम बिदुरबाट प्रबाह गरिने सेवासुबिधा गाउघरमा नै प्राप्त भएपछि स्थानियबासी खुुसीले हर्षित भएका छन ।

प्रत्येक जिल्लाको ४ ओटा स्थानीयतहमा एकिकृत घुम्ती शिबिर सञ्चालन गर्ने नेपाल सरकारको निती र गृहमन्त्रालयले दिएको निर्देशन अनुरुप ककनी गाउँपालिकाको कार्यलयमा घुम्ती शिबिर सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

त्यस्तै शिबिरमा जिल्ला निर्बाचन कार्यालयबाट ५ सय ४३ जनाको फोटोसहितको मतदाता नामाबली संकलन भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । त्यस्तै कृषि ज्ञान केन्द्र, तरकारी जोन र बाग्बानी बिकास केन्द्र्रबाट २ सय ५५ जनालाई कृषि सम्बन्धि राय परामर्श गरिएको छ । यस्तै घरेलु तथा साना उद्योग बिकास समितीबाट ब्यबसाय दर्ता तथा ईजाजत पत्र बितरण, नुवाकोट बिद्युत् बितरण केन्द्रबाट २ सय वटा नयाँ मिटर बितरण, गरिएको सहायक सिडियो अधिकारीले बताए ।

गाउँपालिकाले गाउँका जनताले जिल्लासम्म पुगेर सेवालिन कतिसम्म समस्या झेल्नु पर्ने बाध्यतालाई सरकारी कार्यालय प्रमुखलाई महशुस गराउन र शिविर पश्चात् जिल्लामा गएर सेवा लिन जाने सेवाग्राहीलाई सहजताका साथ सेवा प्रदान गर्नुपर्ने जनाएको छ ।

प्रशासन कार्यलयका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माका अनुसार सरोकारवालाहरुसँगको आपसी समन्बयनमा स्थानीय तह छनौट गरी अब बाँकी रहेको बेलकोटगढी नगरपालिकामा समेत छिट्टै एकिकृत घुम्ती शिविर सञ्चालन गरिने बताए । यसअघि जिल्ला प्रशासन कार्यलय नुवाकोटले जिल्लाको किस्पाङ गाउँपालिका,शिवपरी गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन गरिसकेको छ ।