असिना–पानीले लाखौंको तरकारी क्षति

0
Shares

प्रताप बानियाँ, म्याग्दी
बुधबार मध्यरातमा परेको असिना पानीले म्याग्दीका कृषकले खेतबारीमा लगाएको लाखौंको तरकारी बाली नष्ट गरेको छ । राति १२ बजेदेखि साढे १२ बजेसम्म परेको भीषण असिना र पानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो ।

असिना र पानीले तरकारी खानका लागि तयारीमा अवस्थामा रहेको बन्दा, काउली, आलु, गाजर, रायो साग, लसुन, प्याज, धनिया, मुला लगायतका बेमौसमी तरकारी खेतीमा क्षति पु¥याएको कृषकले गुनासो गरेका छन् । म्याग्दीको बेनी नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँटलगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिना पानीले नष्ट गरिदिएको छ ।
असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पु¥याएको छ ।

बुधबारको राति परेको असिना र पानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिना पानीले नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् । विगत ४० वर्षदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले असिनाले करिब चारलाख रुपियाँ बराबरको तरकारी खेती नष्ट गरेको गुनासो गरेका छन् । टिपेर बिक्रीका लागि बजार पठाउने तयारी हुनै लाग्दा परेको असिना र पानीले आफ्नो ८ रोपनीमा लगाएको तरकारी खेतीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

असिनाले किसानको टनेलमा पनि क्षति पु¥याएको छ । बेनी नगरपालिकाको खबरा, बगरफाँटलगायतका क्षेत्रबाट म्याग्दी सदरमुकाम बेनीबजारमा दैनिक रुपमा तरकारी आयात हुने गर्दछ । खबरासहितका तल्लो तटीय क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ । जिल्लाको उच्च हिमाली र पहाडी क्षेत्रमा बुधबार बाक्लो हिमपात हुनुका साथै तल्लो क्षेत्रमा असिना पानी परेको हो । असिनाले वनजंगल र पाखो बारीमा रहेका रुखका हाँगा भाँच्नुका साथै पातपतिंगरहरु समेत झारेको छ । असिनाले गर्दा तरकारी बालीसहित पाक्न लागेको गहुँ र तोरी बालीलाई पनि क्षति पु¥याएको छ ।

वर्षा र हिमपातले सताइरहेका समयमा असिना पानी समेत परेपछि जनजीवन थप कष्टकर बनेको छ । म्याग्दीको तल्लो क्षेत्रमा अचानक असिना परेपछि जमिन पुरै सेताम्य भएको छ भने बेमौसमी तरकारी बाली तथा अन्नबालीमा क्षति पुगेको हो । लगातार तीन दिनसम्मको वर्षा, हिमपात र असिनाका कारण हिउँदे बालीमा क्षति पुगेपछि किसानहरु मर्कामा परेका छन् ।

अत्यधिक चिसोका कारण हिउँदे बालीमा क्षति पुगेको छ भने मानिस र पशु चौपायासमेत जाडोका कारण कठ्याङ्ग्रियर बस्न बाध्य भएको स्थानीयबासीको भनाइ छ ।
सरकारले ल्याएको कृषि बीमा कार्यक्रममा सहभागी नभएका कृषक असिना पानीले तरकारीमा क्षति पु¥याउँदा उनीहरुलाई थप समस्या भएको छ । सरकारले कृषकलाई लक्षित गरेर ल्याएको कृषि बिमा तथा पशु बीमा जस्ता कार्यक्रम ल्याएको भए पनि म्याग्दीमा भने यो कार्यक्रमले प्रभावकारीता पाउन सकेको छैन ।